बाढीबाट प्रभावित क्षेत्रमा सडक तथा यातायात सम्पर्क पुनःस्थापना गर्न चीनले नेपाललाई दुई वटा बेली ब्रिज हस्तान्तरण गरेको छ।

ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले हालै बाढी प्रभावित क्षेत्रमा जडान गर्न चीनको तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र कार्यालयसँग ३० वटा बेली ब्रिज उपलब्ध गराइदिन अनुरोध गरेको थियो। सोही अनुरोधअनुसार चीनको तिब्बत स्वायत्त क्षेत्र सरकारले १००–१०० मिटर लम्बाइका दुई वटा बेली ब्रिजका सामग्री नेपाललाई हस्तान्तरण गरेको हो।

बेली ब्रिज हस्तान्तरण तथा ग्रहण समारोह आज, ४ सेप्टेम्बर २०२६ मा ल्हासास्थित नेपालको महावाणिज्यदूतावासमा आयोजना गरिएको थियो। समारोहमा ल्हासाका लागि नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र चीनको तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र कार्यालयका उपमहानिर्देशक (DDG) ओयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्दै एक–अर्कालाई आदानप्रदान गरेका थिए।

समारोहमा ल्हासास्थित नेपाली महावाणिज्यदूतावास तथा चीनको तिब्बत स्वायत्त क्षेत्रको परराष्ट्र कार्यालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

महावाणिज्यदूत निरौलाका अनुसार बेली ब्रिजका आवश्यक सामग्रीहरू आजै कोरला (लिजी) सीमा नाका हुँदै माथिल्लो मुस्ताङ पुगेका छन्। नेपाल पक्षले ती सामग्री आजै ग्रहण गर्ने तयारी गरिएको छ।

चीनले बेली ब्रिजको प्रभावकारी र सहज जडानका लागि आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने जनाइएको छ।

हस्तान्तरण गरिएका सामग्रीमा बेली प्यानल, स्टिफेनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङलगायतका सामग्री रहेका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा सडक तथा पुल संरचनामा पुगेको क्षति न्यूनीकरण गर्दै यातायात सम्पर्क पुनःस्थापना गर्न बेली ब्रिज महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।