काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको पावर हाउसमा कार्यरत दुई जना कर्मचारीको २१६ घण्टापछि सकुशल उद्धार गरिएको छ।
मिति २०८३ भदौ १० गते आएको बाढीपछि सम्पर्कविहीन कर्मचारीहरूको निरन्तर खोज तथा उद्धार कार्यका क्रममा १०औँ दिन अर्थात् २०८३ भदौ १९ गते बिहान करिब ८ः५५ बजे दुई जना कर्मचारीलाई सकुशल उद्धार गर्न सम्भव भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
प्रतिकूल तथा चुनौतीपूर्ण परिस्थितिका बाबजुद खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको थियो। उद्धार कार्य प्रभावकारी बनाउन प्रत्यक्ष रूपमा संलग्न तथा आवश्यक सहयोग, समन्वय र सहजीकरण गर्ने सबैप्रति नेपाल विद्युत् प्राधिकरणले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
प्राधिकरणले सम्माननीय प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, गृह मन्त्री, सञ्चार मन्त्री, प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपाने तथा सागर ढकाल, सचिवहरू, नेपाली सेना, नेपाल प्रहरीलगायतका सुरक्षाकर्मी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्थानीय प्रशासन, सम्बन्धित क्षेत्रका विषय विज्ञ, पत्रकार तथा उद्धारमा खटिएका सम्पूर्ण कर्मचारी र विभिन्न उपकरण सञ्चालन गर्ने जनशक्तिप्रति आभार व्यक्त गरेको छ।
त्यस्तै, कर्मचारीका आफन्तजनलगायत खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउने सबै पक्षप्रति पनि प्राधिकरणले कृतज्ञता व्यक्त गरेको छ।
प्राधिकरणले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी रूपमा निरन्तर सञ्चालन गर्न सम्बन्धित सबै पक्षबाट आवश्यक सहयोग र समन्वय गरिदिनसमेत हार्दिक अनुरोध गरेको छ।