सिन्धुपाल्चोकको एकै घरका तीन दाजुभाइ चिलिमे खोलाबाट बेपत्ता भएपछि परिवारले उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ।

बेपत्ता हुनेमा  ४५ वर्षीय हरि बहादुर श्रेष्ठ, ४२ वर्षीय कुमार श्रेष्ठ र ३५ वर्षीय मनलाल श्रेष्ठ (उज्ज्वल) रहेका छन्। उनीहरू तीनै जना दाजुभाइ हुन्। उनीहरूको कन्टेनर व्यवसाय रहेको परिवारले जनाएको छ।

परिवारका अनुसार हरि बहादुर श्रेष्ठको अन्तिम लोकेसन भदौ १० गते बिहान ८:४८ बजे, कुमार श्रेष्ठको बिहान ८:०७ बजे र मनलाल श्रेष्ठ (उज्ज्वल) को बिहान ८:५३ बजे चिलिमे खोला आसपास देखिएको थियो। त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेको परिवारको भनाइ छ।

लगातारको बाढी तथा विपद्का बेला उनीहरू सम्पर्कविहीन भएपछि परिवारमा थप चिन्ता बढेको छ। आफन्तहरूले उनीहरू कहाँ छन् भन्ने यकिन हुन नसकेको भन्दै तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन आग्रह गरेका छन्।

बेपत्ता तीनै जनाकी बहिनी स्वस्तिका श्रेष्ठले बिधिन्युजलाई जानकारी दिँदै दाजुभाइको अवस्था पत्ता लगाउन सम्बन्धित सुरक्षा निकाय, स्थानीय प्रशासन तथा उद्धार टोलीलाई तत्काल खोजी कार्य तीव्र बनाउन आग्रह गरेकी छन्।

परिवारले सम्भावित जोखिमयुक्त क्षेत्रमा समेत खोजीलाई विस्तार गरी तीनै जनाको अवस्थाबारे यथाशीघ्र जानकारी गराइदिन सम्बन्धित सबै पक्षसँग अपिल गरेको छ।

विधिन्युजलाई प्राप्त जानकारीअनुसार, बेपत्ता तीनै जना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्। उनीहरूको अवस्थाबारे कुनै जानकारी प्राप्त गर्ने जो–कोहीले ९८६६४३२४९९ मा सम्पर्क गरीदिन परिवारको अनुरोध छ।