यही २०८३ भाद्र १० गते बुधबार रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु ।

यस अकल्पनीय, हृदयविदारक र पीडादायी विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकसन्तप्त परिवारजन र तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा उहाँहरूलाई धैर्य र शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।

ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन हुनुभएको खबरले हामी सबैलाई थप मर्माहत बनाएको छ । उहाँहरूको खोजी तथा सकुशल उद्धारमा सफलता मिलोस् भन्ने प्रार्थना गर्दछु । सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहनुभएका परिवारजनलाई पनि धैर्य धारण गर्ने शक्ति मिलोस् । घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गर्दछु ।

दुःखको यस घडीमा तपाईंहरू कोही पनि एक्लो हुनुहुन्न । यो कुनै एक परिवार, समुदाय वा जिल्लाको मात्र दुःख होइन । यो हामी सबै नेपालीको साझा पीडा हो । विपद्ले जहाँ प्रहार गरेको छ, त्यहाँ हाम्रो साथ, सहयोग र सहारा पुग्नुपर्छ । यस संकटबाट पार पाउन हामी सबै एक ठाउँमा उभिनुपर्छ, उभिनेछौँ ।

खोजी, उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका कार्यमा अहोरात्र खटिनुभएका सुरक्षाकर्मी, चालक दल, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, जनप्रतिनिधि, स्वयंसेवक, सामाजिक कार्यकर्ता तथा सहयोगमा जुट्नुभएका सम्पूर्ण महानुभावहरूको सक्रियता र समर्पणको उच्च प्रशंसा गर्दछु । यस कठिन घडीमा समाजका विभिन्न तह र तप्काबाट देखाइएको मानवीयता, सहकार्य र ऐक्यबद्धता अत्यन्तै प्रशंसनीय छ ।

यो सिंगो राष्ट्र एक भएर उभिनुपर्ने समय हो । त्यसैले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा म विनम्र आग्रह गर्दछु।

आफ्नो सामर्थ्यअनुसार प्रभावित परिवार र समुदायको सहयोगमा जुटौँ । कसैका लागि सानो देखिने सहयोग पनि विपद्मा परेका परिवारका लागि ठूलो भरोसा र आशाको आधार बन्न सक्छ । तसर्थ, आफ्नो गाँस काटेर भए पनि सहयोग गरौँ । सम्भव भएसम्म आउँदा चाडपर्वका केही खर्च कटाएर भए पनि आज संकटमा परेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको जीवन जोगाउन र घरपरिवार सम्हाल्न योगदान गरौँ । यो हाम्रो जिम्मेवारी, आत्मीयता र मानवताको अभिव्यक्ति पनि हो ।

विपद्को समयमा हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो एकता हो । आजको हाम्रो सहयोग र ऐक्यबद्धताले भोलिको आशा निर्माण गर्नेछ ।
यस घटनाले नेपालमा मात्र नभई हाम्रो छिमेकी मित्रराष्ट्र चीनतर्फ समेत ठूलो क्षति पुर्‍याएको खबरले हामीलाई दुःखी बनाएको छ । चीनमा भएको जनधनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दै त्यहाँका पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु । यस कठिन परिस्थितिको सामना गर्ने शक्ति चीनका जनतालाई प्राप्त होस् भन्ने कामना गर्दछु ।

साथै, दुवै मुलुकका सम्बन्धित संयन्त्रबीच प्रभावकारी समन्वय र सहकार्यका साथ खोजी, उद्धार तथा राहतका कार्यहरू थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दछु ।

मिति : २०८३ भाद्र ११ गते बिहीबार