बाजुरा । प्रसिद्ध बडिमालिका तीर्थयात्रामा आउने दर्शनार्थी तथा तीर्थयात्रीलाई बसोबासमा समस्या नहोस् भनेर बडिमालिका पर्यटन विकास समितिले मार्तडी बजार आसपासका स्थानीय घरमा सामुदायिक बसोबासको व्यवस्था मिलाउने भएको छ। तीर्थयात्राका क्रममा मार्तडी पुगेका यात्रुले होटलमा कोठा नपाएको अवस्थामा स्थानीय घरमै खाना तथा बसोबासको सुविधा उपलब्ध गराउने गरी ‘सामुदायिक बसोबास’ अवधारणा अघि सारिएको हो।

समितिका अनुसार बडिमालिका तीर्थयात्राका लागि मार्तडी पुगेका यात्रुले होटल तथा अन्य आवासीय संरचनामा बस्ने ठाउँ नपाए स्थानीय घरलाई वैकल्पिक बसोबासको रूपमा प्रयोग गर्न सक्नेछन्। यसका लागि मार्तडी बजार आसपासका स्थानीय परिवारलाई यात्रुका लागि खानासहित बसोबासको व्यवस्था गर्न समेटिएको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको सूचनामा बडिमालिका यात्राका क्रममा मार्तडी पुगेपछि होटलमा बसोबास नपाउने अवस्था आएमा स्थानीय घरमै यात्रुको बसोबासको व्यवस्था गरिने उल्लेख छ। स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्ने तथा तीर्थयात्रीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले ‘कम्युनिटी एकोमोडेसन कन्सेप्ट’ अर्थात् सामुदायिक बसोबासको अवधारणा ल्याइएको समितिले जनाएको छ।

सामुदायिक बसोबासअन्तर्गत स्थानीय घरमा तीर्थयात्रीका लागि खाना तथा बस्ने व्यवस्था गरिनेछ। यसले होटलको क्षमता सीमित हुँदा उत्पन्न हुने आवास समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, तीर्थयात्रीले स्थानीय परिवारसँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर पाउने भएकाले यसबाट स्थानीय संस्कृति, आतिथ्य र रहनसहनसँग परिचित हुने वातावरणसमेत बन्ने विश्वास गरिएको छ।

तीर्थयात्रीलाई सामुदायिक बसोबासको सुविधा आवश्यक परे बडिमालिका पर्यटन विकास समितिले सार्वजनिक गरेका सम्पर्क व्यक्तिहरूमार्फत समन्वय गर्न सकिने व्यवस्था गरिएको छ। समितिका अध्यक्ष शेरबहादुर रावल, उपाध्यक्ष वीरेन्द्रबहादुर रावल, सदस्य मनोज रेमी, मदन जैसी तथा लक्ष्मी राज पाध्यायलाई सम्पर्क गरी बसोबासको व्यवस्था मिलाउन सकिने सूचनामा उल्लेख छ।

समितिले बडिमालिका तीर्थयात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन आफूहरू सदैव तयार र प्रतिबद्ध रहेको जनाएको छ। बडिमालिका माताले सबैको रक्षा गरून् भन्ने शुभकामनासहित समितिले तीर्थयात्रीलाई आवश्यक सहयोग र सहजीकरणका लागि स्थानीय समुदायसँग समन्वय बढाएको जनाएको छ।

बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ। तीर्थयात्राको समयमा ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक बाजुरा पुग्ने भएकाले सीमित आवासीय पूर्वाधारका कारण बसोबास चुनौती बन्ने गरेको छ। यस्तो अवस्थामा स्थानीय घरलाई समेत आवास व्यवस्थापनको संरचनामा जोड्ने समितिको पहलले तीर्थयात्रामा आउने नागरिकलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।