काठमाडौं । नेपालको इतिहास, सीमा र कूटनीतिक सम्बन्धसँग जोडिएका दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय सन्धिका सक्कल दस्तावेज नेपाल सरकारसँग छन् वा छैनन् भन्ने विषयमा सरकार आफैं स्पष्ट नरहेको पाइएको छ। नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभामा सन् १८१६ को सुगौली सन्धि र सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको सक्कल प्रति नेपालसँग छ कि छैन भन्ने विषयमा सरकारसँग स्पष्ट जानकारी माग गरेपछि यो विषय फेरि चर्चामा आएको हो।

सांसद राईले बेलायतसँग भएको ऐतिहासिक सुगौली सन्धि र भारतसँग भएको १९५० को शान्ति तथा मैत्री सन्धिको मूल दस्तावेज नेपाल सरकारको अभिलेखमा सुरक्षित छ वा छैन भन्ने विषयमा परराष्ट्रमन्त्रीसँग प्रश्न गरेका थिए। राईको पूरक प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले नेपालसँग १८१६ को सन्धि र १९५० सँग सम्बन्धित केही दस्तावेजहरू रहे पनि ती सन्धिका औपचारिक तथा सक्कल दस्तावेज नै हुन् भन्ने विषयमा सरकारसँग स्पष्ट जानकारी नरहेको बताएका हुन्।

“मेरो जानकारीमा आए अनुसार हामीसँग १८१६ को सन्धि र १९५० सँग सम्बन्धित केही दस्तावेजहरू छन्। तर, सन्धिको औपचारिक दस्तावेज नै छन् कि छैनन् भन्ने स्पष्ट जानकारी नेपाल सरकारसँग छैन,” परराष्ट्रमन्त्री खनालले प्रतिनिधिसभामा भने।

उनले राष्ट्रिय अभिलेखालयमा ती सन्धिसँग सम्बन्धित केही कागजात रहेको जानकारी भए पनि ती नै आधिकारिक सन्धिका मूल दस्तावेज हुन् भन्ने पुष्टि हुन नसकेको बताए। “राष्ट्रिय अभिलेखालयमा केही सन्धिका केही कागजातहरू रहेको चाहिँ तथ्य छ। तर, त्यो औपचारिक सन्धि नै हो कि होइन भन्ने कुराको हामीसँग स्पष्ट जानकारी छैन,” खनालले भने। परराष्ट्रमन्त्रीले यस विषयमा यसअघि पनि संसदलाई जानकारी गराइसकेको उल्लेख गर्दै सरकारसँग हालसम्म यकिन विवरण उपलब्ध नरहेको दोहोर्‍याए।

सांसद निश्कल राईले उठाएको प्रश्नले नेपालको ऐतिहासिक तथा कूटनीतिक अभिलेख संरक्षणको अवस्थामाथि समेत पुनः बहस सुरु गरेको छ। सुगौली सन्धि र १९५० को शान्ति तथा मैत्री सन्धि नेपालको सीमा, सार्वभौमिकता र अन्तर्राष्ट्रिय सम्बन्धसँग प्रत्यक्ष जोडिएका महत्वपूर्ण दस्तावेज मानिन्छन्।

सन् १८१६ मा नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धि नेपाल–अंग्रेज युद्धपछि भएको ऐतिहासिक सम्झौता हो। उक्त सन्धिले नेपालको भूगोल र सीमाको स्वरूपमा ठूलो परिवर्तन ल्याएको थियो र नेपालको आधुनिक सीमा निर्धारणको प्रमुख आधारका रूपमा यसलाई लिइन्छ। त्यस्तै, सन् १९५० जुलाई ३१ मा नेपाल र भारतबीच भएको शान्ति तथा मैत्री सन्धि दुई देशबीचको आधुनिक सम्बन्धको महत्वपूर्ण आधार हो। उक्त सन्धिको पाठ विभिन्न सार्वजनिक अभिलेखमा उपलब्ध भए पनि नेपाल सरकारसँग दुवै पक्षले हस्ताक्षर गरेको मूल सक्कल प्रति सुरक्षित छ वा छैन भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन।

सन्धिको पाठ वा प्रतिलिपि सार्वजनिक रूपमा उपलब्ध हुनु र कुनै देशको अभिलेखमा हस्ताक्षर भएको आधिकारिक मूल दस्तावेज सुरक्षित हुनु फरक विषय हो। सांसद निश्कल राईले उठाएको प्रश्न पनि यही विषयमा केन्द्रित थियो। सुगौली सन्धि र १९५० को सन्धिको सक्कल प्रति खोज्ने विषय यसअघि पनि संसदमा उठ्दै आएको छ। विभिन्न समयमा सांसदहरूले सरकारसँग यी ऐतिहासिक दस्तावेजको अवस्थाबारे जानकारी माग गर्दै आएका छन्।

नेपालको सीमा, कूटनीतिक इतिहास र राष्ट्रिय हितसँग सम्बन्धित यस्ता महत्वपूर्ण दस्तावेजको आधिकारिक अवस्था स्पष्ट नहुनुले अभिलेख व्यवस्थापन र संरक्षण प्रणालीमाथि प्रश्न उठाएको छ।

दुई शताब्दीभन्दा पुरानो सुगौली सन्धिदेखि नेपाल–भारत सम्बन्धको आधार मानिने १९५० को शान्ति तथा मैत्री सन्धिसम्मका मूल दस्तावेजको पहिचान, प्रमाणीकरण र सुरक्षित संरक्षण गर्नु राज्यको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै सांसद निश्कल राईले उठाएको प्रश्नले सरकारमाथि थप स्पष्टता दिन दबाब सिर्जना गरेको छ।