उमेरले ४० वर्ष पुगे पनि प्रदर्शनले विश्व फुटबललाई चकित बनाएका केप भर्डेका अनुभवी गोलरक्षक भोजिन्हा चिलीको सर्वाधिक सफल क्लब कोलो–कोलोमा अनुबन्धित भएका छन्। वास्तविक नाम जोसिमार जोसे एभोरा डायस रहेका भोजिन्हालाई क्लबले अगस्ट ४ मा सान्टियागोस्थित एस्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरेको हो। उनले मेडिकल परीक्षण पूरा गरेपछि टोलीसँग प्रशिक्षणसमेत सुरु गरिसकेका छन्। अधिकांश समय साना क्लब र तल्लो डिभिजनमा बिताएका भोजिन्हाका लागि यो उनको क्लब करियरकै सबैभन्दा ठूलो अवसर हो।
पोर्चुगलको दोस्रो श्रेणीको क्लब जीडी चाभेससँगको यात्रा टुंगिएपछि स्वतन्त्र खेलाडी बनेका भोजिन्हाले कोलो–कोलोसँग प्रारम्भिक छ महिनाको सम्झौता गरेका छन्। सम्झौतामा थप एक वर्ष लम्ब्याउन सकिने विकल्प राखिएको छ। ३४ पटक चिलीको शीर्ष डिभिजन जितेको कोलो–कोलो देशकै सबैभन्दा सफल फुटबल क्लब हो। भोजिन्हाका अनुसार विश्वकपपछि उनलाई विभिन्न क्लबबाट प्रस्ताव आए पनि सुरुदेखि नै कोलो–कोलो उनको पहिलो रोजाइ थियो। उनले भने, “सानो लिग र ठूला नमानिएका क्लबमा खेल्दा पनि मनभित्र आफू ठूलो क्लबको खेलाडी हुँ भन्ने विश्वास थियो”।
भोजिन्हाको करियरले नाटकीय मोड भने सन् २०२६ को फिफा विश्वकपमा लिएको थियो। पहिलोपटक विश्वकप खेलेको सानो अफ्रिकी टापु राष्ट्र केप भर्डेले समूह चरणको पहिलो खेलमा पछि उपाधि जितेको स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो। उक्त खेलमा भोजिन्हाले सातवटा सानदार बचाउ गर्दै स्पेनलाई गोल गर्न दिएनन्। त्यसपछि केप भर्डेले दुईपटकको विश्वविजेता उरुग्वे र साउदी अरेबियासँग पनि बराबरी खेल्दै समूह ‘एच’ को दोस्रो स्थानबाट अन्तिम ३२ मा स्थान बनाएको थियो। फिफाको तथ्यांक अनुसार प्रतियोगितामा उनले कुल १८ बचाउ गरेका थिए।
अन्तिम ३२ को खेलमा साविक विजेता अर्जेन्टिनाविरुद्ध पनि केप भर्डेले अविश्वसनीय चुनौती प्रस्तुत गरेको थियो। निर्धारित समयसम्म अर्जेन्टिनालाई कठिन अवस्थामा राखेको केप भर्डे अतिरिक्त समयमा ३–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। तर टोलीको ऐतिहासिक यात्रा र भोजिन्हाको प्रदर्शनले विश्वभरका समर्थकको मन जित्यो। विश्वकपपछि गरिएको समर्थक मतदानमा उनले गोलरक्षकतर्फ ३९.६ प्रतिशत मत प्राप्त गर्दै फिफाको ‘फ्यान–भोटेड वर्ल्ड कप ड्रिम टिम’मा स्थान बनाए। उनले विश्वकपको आधिकारिक ‘गोल्डेन ग्लोभ’ जितेका स्पेनका उनाइ सिमोनलाई समेत मतदानमा पछि पारेका थिए।
मैदानको प्रदर्शनसँगै सामाजिक सञ्जालमा पनि उनको लोकप्रियता विस्फोटक रूपमा बढ्यो। विश्वकपअघि इन्स्टाग्राममा ५० हजारभन्दा कम फलोअर रहेका भोजिन्हालाई केही सातामै करिब तीन करोड मानिसले पछ्याउन थाले। विशेषगरी स्पेनविरुद्धको खेलपछि ब्राजिलियन डिजिटल प्रसारक काजेटिभीले दर्शकलाई उनको खाता फलो गर्न आह्वान गरेपछि उनको लोकप्रियता तीव्र रूपमा बढेको थियो। कोलो–कोलोमा सार्वजनिक हुँदासम्म उनी विश्वकपबाट उदाएका सबैभन्दा चर्चित खेलाडीमध्ये एक बनिसकेका थिए।
उनको स्थानान्तरणसँगै जर्सीमा प्रयोग गरिने नाम पनि चर्चाको विषय बनेको थियो। चिलीको फुटबल नियमले खेलाडीलाई जर्सीमा आफ्नो कानुनी थर मात्र लेख्नुपर्ने व्यवस्था गरेको छ। तर कोलो–कोलोको अनुरोध र अन्य क्लबहरूको समर्थनपछि चिली फुटबल संघले उनलाई ‘Vozinha’ नाम प्रयोग गर्न विशेष अनुमति दिएको छ। पोर्तुगाली भाषामा ‘सानो हजुरआमा’ भन्ने अर्थ लाग्ने यो नाम उनलाई बाल्यकालमा दिइएको थियो। सडक फुटबलमा पराजित भएपछि रुने र आफूलाई हुर्काएका हजुरबा–हजुरआमाकहाँ दौडिने गरेकाले ठूला बालकहरूले उनलाई उक्त उपनाम दिएका थिए। भोजिन्हाले यही नाम आफ्नो पारिवारिक स्मृति र पहिचानसँग जोडिएको बताएका छन्।
भोजिन्हाले कोलो–कोलोमा २९ नम्बरको जर्सी लगाउनेछन्। चिलीको लिग तालिकाको शीर्ष स्थानमा रहेको क्लबका लागि उनले अगस्ट ९ मा युनियन ला कालेइराविरुद्धको खेलबाटै डेब्यु गर्न सक्ने सम्भावना छ। उक्त खेलमा मैदान नउत्रिए अगस्ट १६ मा घरेलु मैदानमा ओ’हिगिन्सविरुद्ध उनको पहिलो प्रतिस्पर्धात्मक उपस्थिति हुन सक्ने चिलीका सञ्चारमाध्यमले जनाएका छन्।
विश्वकपलाई आफ्नो फुटबल जीवनको सबैभन्दा सुन्दर उपलब्धि बताएका भोजिन्हा अब त्यसलाई विगत मानेर नयाँ क्लबको लक्ष्यमा केन्द्रित हुन चाहन्छन्। चाभेससम्म सीमित देखिएको उनको क्लब करियर विश्वकपको केही सातामै चिलीको महारथी कोलो–कोलोसम्म पुगेको छ। उमेरभन्दा आत्मविश्वास, धैर्य र अवसर निर्णायक हुन्छ भन्ने उदाहरण बनेका भोजिन्हाका लागि ४० वर्षको उमेरमै क्लब फुटबलको सबैभन्दा ठूलो अध्याय सुरु भएको छ।