इस्लामाबाद । पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा बिहीबार मध्याह्न गएको ठूलो हिमपहिरोमा परी चर्चित नेपाली आरोही निर्मल “निम्सदाई” पुर्जासहित १० जनाको अन्तर्राष्ट्रिय आरोही टोली बेपत्ता भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबीसी र इन्डियन एक्सप्रेसका अनुसार जुलाई ३० को मध्याह्नतिर गएको हिमपहिरोपछि उक्त टोलीसँगको सबै प्रकारका भूउपग्रह (स्याटेलाइट) तथा रेडियो सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ।
अल्पाइन क्लब अफ पाकिस्तानले सार्वजनिक गरेको विवरणअनुसार बेपत्ता टोलीको नेतृत्व पूर्व बेलायती गोर्खा सैनिक तथा १४ वटै ८ हजार मिटरभन्दा अग्ला हिमाल छिटो आरोहण गरेर विश्वकीर्तिमान बनाएका निर्मल पुर्जाले गरिरहेका थिए। बेपत्ता हुने १० सदस्यीय आरोहण दलमा पुर्जासहित पाँच जना नेपाली शेर्पा आरोही, पाकिस्तानको हुन्जाका सोहेल साखी, अमेरिकी आरोही म्यालोरी गाइस, ओमानकी नधिरा र चीनका ‘मिस्टर वाङ’ रहेका छन्। बाँकी एक जना विदेशी नागरिकको नाम तथा पहिचान भने आधिकारिक रूपमा सार्वजनिक भइसकेको छैन।
हिमपहिरोले आरोहीहरूको बाटो तथा शिविरमा क्षति पुर्याएको अनुमान गरिएको छ। घटनालगत्तै अल्पाइन क्लब अफ पाकिस्तान, स्थानीय प्रशासन र उद्धार एजेन्सीहरूले खोज तथा उद्धार कार्यका लागि संयन्त्र परिचालन गरेका छन्। तर, अत्यधिक कठिन भौगोलिक बनावट, उच्च उचाइ र रात परेका कारण बिहीबार तत्कालै घटनास्थलमा टोली पुग्न सकेन। मौसमले साथ दिएमा शुक्रबार बिहानैदेखि हेलिकप्टर र पैदल टोलीमार्फत उच्च हिमाली क्षेत्रमा व्यापक खोजी सुरु गरिने उद्धारकर्ताहरूले बताएका छन्। आरोहीहरूको अवस्थाबारे अझै कुनै स्पष्ट जानकारी प्राप्त भइनसकेकाले सम्पूर्ण पर्वतारोहण क्षेत्र र परिवारजनमा चिन्ता छाएको छ।