सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादको असर मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिँदै जाँदा बिहीबार सिरहाको गोलबजार हिंसात्मक बनेको छ। प्रदर्शन र दुई पक्षबीचको झडपका क्रममा गोली लागेर सिरहाको औरही गाउँपालिका–२ तुलसीपुरका २० वर्षीय गणेश यादवको मृत्यु भएको छ भने धनुषाका सुभाष ठाकुर गम्भीर घाइते भएका छन्। ठाकुरलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
सुनसरी घटनाको विरोधमा केही दिनदेखि गोलबजारसहित सिरहाका विभिन्न स्थानमा भइरहेको प्रदर्शन बिहीबार थप उग्र बनेको थियो। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव बढ्दै गएपछि गोली चलेको र यादवलाई गोली लागेको बताइएको छ। घटनापछि आक्रोशित आफन्त तथा स्थानीयवासीले यादवको शव पूर्व–पश्चिम राजमार्गमै राखेर विरोध प्रदर्शन जारी राखेका छन्। प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन, गोली चलाउने व्यक्तिको पहिचान र दोषीमाथि कारबाहीको माग गरेका छन्।
गोली कसले चलाएको हो भन्ने विषयमा भने विवाद देखिएको छ। प्रदर्शनकारीले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको आरोप लगाएका छन्। स्थानीय प्रशासन तथा सुरक्षा निकायका तर्फबाट भीड नियन्त्रणका क्रममा अश्रुग्यास र हवाई फायर गरिएको बताइए पनि यादवलाई लागेको गोली कहाँबाट र कसले चलाएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ। केहीले प्रहरीको गोलीबाट मृत्यु भएको उल्लेख गरेका छन् भने प्रशासनले घटनाको विस्तृत अनुसन्धान जारी रहेको बताएको छ।
यादवको मृत्युपछि प्रदर्शनकारी थप आक्रोशित बनेका थिए। उनीहरूले गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरेका छन्। प्रारम्भिक विवरणअनुसार मलको पार्किङ क्षेत्रमा राखिएका ११ वटा मोटरसाइकलसमेत जलेका छन्। आगजनीपछि मल र आसपासको क्षेत्रबाट ठूलो धुवाँको मुस्लो निस्किएको थियो। सुरक्षाकर्मी र दमकलको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास गरिएको भए पनि घटनाबाट भएको कुल भौतिक क्षतिको विवरण सार्वजनिक भइसकेको छैन।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार दिउँसो २ बजेदेखि गोलबजारका विभिन्न क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम जारी आदेशअनुसार पूर्वमा गोलबजार नगरपालिका–३ स्थित कसहा खोला, पश्चिममा चोहर्वा चोक, उत्तरमा गोलबजार नगरपालिका–६ को सैनिक चोक र दक्षिणमा गोलबजार नगरपालिका–४ स्थित राजेन्द्रप्रसाद राजकीय बहुमुखी क्याम्पस आसपासको क्षेत्रलाई कर्फ्युको सीमाभित्र राखिएको छ। तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा नाराबाजी गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।
तनाव लहानसम्म फैलिन सक्ने जोखिम बढेपछि प्रशासनले बिहीबार अपराह्न ४ बजेदेखि लहान नगरपालिकाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। लहानको पूर्वतर्फ बलान खोलादेखि पश्चिमतर्फ सरस्वती खोला तथा पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ पाँच सय मिटर क्षेत्रभित्र कर्फ्यु लागू गरिएको हो। प्रशासनले अर्को आदेश जारी नभएसम्म कर्फ्यु पालना गर्न र अफवाहका पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ।
कर्फ्युका बीच पनि प्रदर्शन, ढुंगामुढा र आगजनी नरोकिएपछि गोलबजार तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगै नेपाली सेना परिचालन गरिएको छ। सुरक्षा निकायको संयुक्त टोलीले संवेदनशील स्थानमा गस्ती बढाउनुका साथै राजमार्ग, व्यापारिक केन्द्र र सार्वजनिक संरचनाको सुरक्षा कडा बनाएको छ। प्रशासनले घटनापछि गोलबजारको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बनेको र स्थिति नियन्त्रणमा लिन उच्च सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।
सिरहामा फैलिएको तनावको प्रारम्भ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको विवादसँग जोडिएको छ। एउटा मन्दिरअगाडि ठूलो आवाजमा डिजे बजाएको विषयमा दुई समूहबीच विवाद सुरु भएको थियो। त्यसअघि बिजुलीको पोलमा राखिएको एउटा समुदायको धार्मिक झण्डा हटाएर अर्को समुदायको झण्डा राखिएको विषयलाई लिएर पनि स्थानीय स्तरमा असन्तुष्टि बढिरहेको बताइएको छ। विवादले उग्र रूप लिएपछि दुवै पक्षबीच ढुंगामुढा भएको र स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज, अश्रुग्यास, हवाई फायर तथा गोली प्रयोग गरेका थिए।
कप्तानगञ्जको झडपमा गोली लागेर देवानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा नौ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मीसहित कम्तीमा २२ जना घाइते भएको विवरण सार्वजनिक भएको छ। प्रहरीले अत्यधिक बल प्रयोग गरेको र एकपक्षीय कारबाही गरेको आरोप लगाउँदै सुरु भएको विरोध सुनसरीबाट सिरहा, जनकपुरधामसहित मधेसका विभिन्न सहरमा फैलिएको हो।
सुनसरीबाट सुरु भएको विवादले व्यापक रूप लिएपछि जनकपुरधामलगायत अन्य संवेदनशील क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा र कर्फ्यु जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले सुनसरी घटना र त्यसबाट उत्पन्न समग्र सुरक्षा अवस्थाको समीक्षा गरेको छ। बैठकले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सुरक्षा निकाय, राजनीतिक दल, स्थानीय प्रतिनिधि तथा अन्य सरोकारवालाबीचको समन्वय थप प्रभावकारी बनाउने निर्णय गरेको छ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि देवानगञ्जमा भएको झडप, प्रहरीको गोलीबाट भएको मृत्यु र त्यसपछिको मानव अधिकार अवस्थाबारे प्रारम्भिक अनुगमन तथा अनुसन्धान सुरु गरेको जनाएको छ। आयोगले सबै पक्षलाई संयम अपनाउन, उत्तेजक अभिव्यक्ति र गतिविधि रोक्न तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। विभिन्न राजनीतिक दल, मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले घटनाको स्वतन्त्र तथा निष्पक्ष छानबिन, मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
सामान्य विवादबाट सुरु भएको घटना मानवीय क्षति, आगजनी, कर्फ्यु र सेना परिचालनसम्म पुगेपछि स्थानीय नागरिकमा त्रास बढेको छ। प्रशासन र सुरक्षा निकायले सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा उत्तेजक सामग्रीमा विश्वास नगर्न, धार्मिक वा सामुदायिक भावनामा चोट पुग्ने अभिव्यक्ति नदिन र शान्ति पुनःस्थापनाका लागि सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।