काठमाडौं। सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय देखिएको तनावपूर्ण परिस्थितिपछि धर्म, जाति र समुदायबीच घृणा फैलाउने, हिंसा उक्साउने तथा अपुष्ट सूचना प्रसार गर्ने सामग्रीमाथि प्रेस काउन्सिल नेपालले निगरानी तीव्र बनाएको छ। काउन्सिलले सञ्चारमाध्यम र सञ्चारमाध्यमका रूपमा सञ्चालन भइरहेका सामाजिक सञ्जालका सामग्रीको नियमित अनुगमन गर्दै आचारसंहिताविपरीत देखिएका सामग्री हटाउन निर्देशन दिनुका साथै गम्भीर प्रकृतिका सामग्रीलाई कानुनी अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको जनाएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले काउन्सिलसँग ठूलो बजेट, पर्याप्त जनशक्ति वा अत्याधुनिक प्रविधि नभए पनि सीमित स्रोत र साधनबाट सञ्चारमाध्यम तथा सामाजिक सञ्जालको म्यानुअल निगरानी गरिरहेको बताएका छन्। सुनसरीको घटनापछि केही घण्टामै सयौँ समाचार, पोस्ट र भिडियोको समीक्षा गर्नुपरेको उल्लेख गर्दै उनले हरेक सामग्रीमा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने, हिंसा र अपराधलाई प्रोत्साहन गर्ने वा भ्रमपूर्ण सूचना फैलाउने अभिव्यक्ति भए–नभएको निरन्तर हेरिएको बताए।
काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आचारसंहिताविपरीत सामग्री प्रसारण गरेका १४ वटा मिडियालाई त्यस्ता सामग्री तत्काल हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको थियो। तीमध्ये सातवटा मिडियाले निर्देशन पालना गर्दै सामग्री हटाएको जानकारी गराएका छन् भने एउटा मिडियालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ। मौखिक निर्देशन पालना नगर्ने अन्य मिडियासँग पनि लिखित स्पष्टीकरण मागिएको काउन्सिलले जनाएको छ।
त्यसैगरी कुनै औपचारिक सञ्चारमाध्यममा आबद्ध नभएका पाँचवटा फेसबुक पेज र एउटा युट्युब च्यानलबाट प्रसारित आठवटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको छ। ती सामग्रीमा धार्मिक वा साम्प्रदायिक सद्भाव बिगार्ने, हिंसा र आतंकलाई प्रश्रय दिने तथा उत्तेजना फैलाउने प्रकृतिका अभिव्यक्ति रहेको काउन्सिलको निष्कर्ष छ।
अध्यक्ष श्रेष्ठले काउन्सिलको उद्देश्य कसैको अभिव्यक्ति दबाउनु नभएको स्पष्ट पार्दै एउटा गलत सूचना, भड्किलो शीर्षक वा जिम्मेवारीहीन सामाजिक सञ्जाल पोस्टले समाजमा ठूलो क्षति पुर्याउन सक्ने बताएका छन्। उनले जिम्मेवार पत्रकारिता र सामाजिक सद्भाव कायम गर्ने अभियान काउन्सिल एक्लैले पूरा गर्न नसक्ने भएकाले पत्रकार, सम्पादक, सामग्री निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ता सबै सचेत हुनुपर्नेमा जोड दिए।
सामग्री साझा गर्नुअघि त्यसको सत्यता र सम्भावित प्रभावबारे सोच्न तथा आपत्तिजनक सामग्रीलाई सम्बन्धित सामाजिक सञ्जाल प्लेटफर्ममै रिपोर्ट गर्न पनि श्रेष्ठले नागरिकलाई आग्रह गरेका छन्। काउन्सिलको आलोचना गर्न, कमजोरी औँल्याउन र सुझाव दिन सबैलाई खुला रहेको उल्लेख गर्दै उनले सत्य, सामाजिक सद्भाव र जिम्मेवार पत्रकारिताको पक्षमा भने सबै एक ठाउँमा उभिनुपर्ने बताए। “समाजमा आगो लगाउन एउटा झिल्को पर्याप्त हुन्छ, तर त्यो आगो निभाउन हजारौँ हात चाहिन्छ,” उनले भनेका छन्, “प्रेस काउन्सिल नेपाल ती हजारौँ हातमध्ये एउटा जिम्मेवार हात बन्ने प्रयासमा छ।”