वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न असहज परिस्थिति र स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगन भएका छन्।
आज (साउन १३ गते) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय र नेपाल चिकित्सक संघका पदाधिकारीहरूबीच भएको वार्तामा ५ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरू फिर्ता लिइएको हो।
सहमति पश्चात् नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ति जारी गर्दै देशभरका सम्पूर्ण शाखा कार्यालयहरू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आन्दोलनका कुनै पनि कार्यक्रम अगाडि नबढाउन र अस्पतालहरूमा नियमित सेवा सुचारु गर्न आह्वान गरेको छ।
सरकार र चिकित्सक संघबीच भएका ५ बुँदे सहमतिहरू:
१. दोषीमाथि कारबाही: नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई गृह मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम थप कारबाही अगाडि बढाउने।
२. कानुन संशोधन प्रक्रिया: स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (दफा २, ३ र १५) तथा मुलुकी अपराध संहिता, २०७४ (दफा २३२ र २३३) मा आवश्यक संशोधनका लागि आगामी प्रतिनिधि सभाको अधिवेशनमा विधेयक पेश गर्न तत्काल प्रक्रिया बढाउने। यसमा कानुन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने।
३. उपभोक्ता संरक्षण ऐनमा संशोधन कार्यदल: उपभोक्ता संरक्षण ऐन, २०७५ मा स्वास्थ्य सम्बन्धी विषयमा आवश्यक संशोधन गर्न स्वास्थ्य मन्त्रालयले नेपाल चिकित्सक संघको सहभागितामा सात दिनभित्र एक कार्यदल गठन गर्ने र सो कार्यदलको प्रतिवेदनका आधारमा संशोधन अघि बढाउने।
४. अन्य बाँकी मागहरू: नेपाल चिकित्सक संघले उठाएका अन्य मागहरू सम्बोधन गर्न पनि मन्त्रालय र संघबीच सहकार्य गर्दै जाने।
५. आन्दोलन स्थगन र सेवा सुचारु: सहमति भएसँगै चिकित्सक संघले घोषणा गरेका विरोधका सम्पूर्ण कार्यक्रमहरू तत्कालका लागि स्थगन गरी नियमित स्वास्थ्य सेवा सुचारु गर्ने।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारसँग भएको सहमति अक्षरसः कार्यान्वयन गराउन संघले निरन्तर पहलकदमी गरिरहने जनाइएको छ। साथै, आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण अस्पताल निर्देशक, विशेषज्ञ समाज, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरूलाई धन्यवाद ज्ञापन गरिएको छ।