काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डीनको कार्यालयद्वारा सञ्चालित स्नातकोत्तर तह (MBS) प्रथम सत्रको परीक्षामा प्रश्नपत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि गम्भीर विवाद उत्पन्न भएको छ।
मिति २०८३ श्रावण ०८ गते (२४ जुलाई २०२६) का दिन सञ्चालित MGT 515: Organizational Behavior विषयको परीक्षा सञ्चालनकै क्रममा विभिन्न सामाजिक सञ्जालमा प्रश्नपत्र सार्वजनिक भएको थियो। प्रश्नपत्र बाहिरिएपछि परीक्षाको मर्यादा र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको छ।
यस विषयलाई गम्भीरताका साथ लिँदै व्यवस्थापन संकाय डीनको कार्यालयले सत्यतथ्य छानबिनका लागि एक समिति गठन गरेको छ।
डीनको कार्यालयका अनुसार मिति २०८३ श्रावण १० गते बसेको परीक्षा सञ्चालन समितिको बैठकले उक्त घटनाको यथार्थ पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। समितिले प्रश्नपत्र कसरी र कसबाट बाहिरियो भन्नेबारे अध्ययन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको लागि सिफारिस गर्नेछ।
व्यवस्थापन संकायले परीक्षाको निष्पक्षता र मर्यादा कायम राख्न प्रतिबद्ध रहेको जनाउँदै दोषी पाइएका व्यक्तिहरूलाई कडा कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।