बेइजिङ — चीनको विकास मार्ग, शासन प्रणाली र भावी दिशा बुझ्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को भूमिका र संगठनात्मक संरचनालाई बुझ्नुपर्नेमा चिनियाँ विज्ञहरूले जोड दिएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय पार्टी स्कुलअन्तर्गत पार्टी निर्माण विभागका झेङ ह्वानले प्रस्तुत गरेको ‘सी चिनफिङको पार्टी निर्माणसम्बन्धी विचारका समकालीन विशेषता र विश्वव्यापी महत्त्व’ विषयक भाषणमा सीपीसीको नेतृत्वलाई चीनको विकास र स्थायित्वको आधारका रूपमा प्रस्तुत गरिएको छ।
भाषणमा सन् २०१२ मा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनपछि राष्ट्रपति सी चिनफिङ नेतृत्वको पार्टी केन्द्रीय समितिले दीर्घकालीन रूपमा शासन गर्ने मार्क्सवादी पार्टी कस्तो हुनुपर्छ र त्यसको निर्माण कसरी गर्नुपर्छ भन्ने विषयमा नयाँ अवधारणा, नीति र रणनीति अघि सारेको उल्लेख छ।
यी अवधारणाहरूले व्यवस्थित सैद्धान्तिक स्वरूप ग्रहण गर्दै ‘सी चिनफिङको पार्टी निर्माणसम्बन्धी विचार’ निर्माण भएको भाषणमा बताइएको छ। यसलाई नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारको महत्त्वपूर्ण अङ्गका रूपमा व्याख्या गरिएको छ।
चीनको शासन बुझ्ने आधार सीपीसी
भाषणको पहिलो भागमा समकालीन चीनका राजनीतिक, आर्थिक तथा सामाजिक विषय बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्नु अनिवार्य रहेको उल्लेख गरिएको छ।
चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्थाको सबैभन्दा आधारभूत विशेषता पार्टीको नेतृत्व भएको र यही नेतृत्व चीनको विकास तथा प्रगतिको प्रमुख प्रत्याभूति रहेको भाषणमा दाबी गरिएको छ।
सीपीसी केन्द्रीय समितिको संगठन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को अन्त्यसम्म चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यको संख्या १० करोड १२ लाख ८६ हजार पुगेको छ। देशभर ५४ लाख ३१ हजार आधारभूत पार्टी संगठन क्रियाशील रहेको विवरण पनि प्रस्तुत गरिएको छ।
यी संगठनहरू चीनका ग्रामीण तथा सहरी क्षेत्रमा फैलिएको उल्लेख गर्दै भाषणमा उनीहरूलाई पार्टी र जनताबीच सम्बन्ध स्थापित गर्ने संगठनात्मक सञ्जालका रूपमा चित्रण गरिएको छ।
‘देशको शासन गर्नुअघि पार्टीले आफूलाई व्यवस्थित गर्नुपर्छ, पार्टी बलियो भए मात्र देश बलियो हुन्छ’ भन्ने सिद्धान्तलाई चिनियाँ शासन प्रणालीको आधारभूत मान्यताका रूपमा प्रस्तुत गरिएको छ।
आर्थिक र सामाजिक विकासमा पार्टी नेतृत्व
भाषणको दोस्रो भागमा आर्थिक विकास, गरिबी निवारण तथा वातावरण संरक्षणमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वले निर्वाह गरेको भूमिकाको चर्चा गरिएको छ।
प्रस्तुत विवरणअनुसार चीनको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन सन् २०२० मा १० हजार ६३२ अमेरिकी डलर रहेकामा सन् २०२४ मा १३ हजार ४४५ डलर पुगेको छ।
चौधौँ पञ्चवर्षीय योजनाको अवधिमा चीनको अर्थतन्त्र वार्षिक औसत ५.५ प्रतिशतले विस्तार भएको उल्लेख छ। सन् २०२५ मा चीनको कुल गार्हस्थ्य उत्पादन १४०.१९ ट्रिलियन युआन अर्थात् करिब २०.१३ ट्रिलियन अमेरिकी डलर पुगेको र त्यस वर्ष अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि भएको विवरण भाषणमा समावेश छ।
विश्व अर्थतन्त्रमा देखिएको दबाबका बीच चीनले तीव्र आर्थिक विकास र दीर्घकालीन सामाजिक स्थायित्व कायम गरेको विषयलाई भाषणमा ‘दुई चमत्कार’ का रूपमा व्याख्या गरिएको छ।
गरिबी निवारणमा व्यापक परिचालन
चीनको गरिबी निवारण अभियानमा देशभर दुई लाख ५५ हजार गाउँस्तरीय कार्यदल परिचालन गरिएको भाषणमा उल्लेख छ। त्यस अभियानमा ३० लाखभन्दा बढी प्रथम सचिव तथा गाउँमा खटिएका कर्मचारी, करिब २० लाख टाउनसिपस्तरीय कर्मचारी र लाखौँ स्थानीय अधिकारी सहभागी भएको बताइएको छ।
केन्द्रीय, प्रान्तीय तथा स्थानीय तहबाट विशेष गरिबी निवारण कोषमा करिब १.६ ट्रिलियन युआन परिचालन भएको विवरण प्रस्तुत गरिएको छ। त्यसमध्ये केन्द्रीय सरकारले ६६०.१ अर्ब युआन लगानी गरेको जनाइएको छ।
पूर्वी चीनका नौवटा प्रान्त तथा नगरपालिकाले गरिबी निवारण सहकार्यका क्षेत्रमा एक खर्ब युआनभन्दा बढी आर्थिक र सामाजिक सहयोग प्रदान गरेको पनि भाषणमा उल्लेख छ।
पर्यावरणीय सुधारमा जोड
पार्टीको नेतृत्वमा चीनले पर्यावरणीय सभ्यता निर्माणलाई राष्ट्रिय विकासको प्रमुख हिस्साका रूपमा अघि बढाएको भाषणमा बताइएको छ।
‘स्वच्छ पानी र हरिया पहाड अमूल्य सम्पत्ति हुन्’ भन्ने अवधारणाअनुसार चीनले वायु, पानी, वन तथा माटो संरक्षणमा सुधार गरेको दाबी गरिएको छ।
प्रस्तुत तथ्यांकअनुसार सन् २०१५ को तुलनामा सन् २०२१ मा चीनका प्रिफेक्चरस्तर र सोभन्दा माथिका सहरमा पीएम २.५ को औसत मात्रा ३४.८ प्रतिशतले घटेको छ।
चीनको वन क्षेत्रले कुल भूभागको २४.०२ प्रतिशत हिस्सा ओगटेको र उत्कृष्ट गुणस्तर भएको सतही पानीको अनुपात ८४.९ प्रतिशत पुगेको जनाइएको छ। प्रदूषित कृषि भूमि तथा प्रदूषित क्षेत्रको सुरक्षित प्रयोग दर ९० प्रतिशतभन्दा माथि रहेको विवरणसमेत प्रस्तुत गरिएको छ।
भ्रष्टाचारविरुद्ध तीन तहको रणनीति
भाषणको तेस्रो भागमा चिनियाँ कम्युनिस्ट पार्टीको भ्रष्टाचारविरोधी अभियानको चर्चा गरिएको छ।
भ्रष्टाचारलाई पार्टीको शासन आधार कमजोर बनाउने सबैभन्दा गम्भीर जोखिम, चुनौती र खतराका रूपमा व्याख्या गर्दै यसविरुद्धको संघर्ष हार्न नहुने राजनीतिक लडाइँ भएको उल्लेख गरिएको छ।
चीनले अधिकारीहरूलाई ‘भ्रष्टाचार गर्न नदिने, गर्न नसक्ने बनाउने र गर्न नचाहने बनाउने’ एकीकृत रणनीति अपनाएको भाषणमा बताइएको छ।
‘भ्रष्टाचार गर्न नदिने’ नीति कडा कारबाही र दण्डको त्राससँग सम्बन्धित छ। भ्रष्टाचार गर्न खोज्ने व्यक्ति कानुनी तथा अनुशासनात्मक कारबाहीबाट डराउने वातावरण निर्माण गर्नु यसको उद्देश्य रहेको बताइएको छ।
‘भ्रष्टाचार गर्न नसक्ने’ अवस्था निर्माण गर्न कानुन, पार्टी नियम, संस्थागत नियन्त्रण र शक्ति प्रयोगमाथिको निगरानीलाई बलियो बनाइएको उल्लेख छ।
त्यस्तै, ‘भ्रष्टाचार गर्न नचाहने’ अवस्था सिर्जना गर्न अधिकारीहरूमा आदर्श, विश्वास, नैतिकता र इमानदारीसम्बन्धी शिक्षा विस्तार गर्ने नीति अपनाइएको छ।
१८औँदेखि २०औँ पार्टी महाधिवेशनसम्म चीनका अनुशासन निरीक्षण तथा अनुगमन निकायहरूले ४६ लाख ४० हजारभन्दा बढी घटनाको अनुसन्धान गरेको भाषणमा जनाइएको छ। सो अवधिमा ४५ लाख ७० हजारभन्दा बढी व्यक्तिमाथि अनुशासनात्मक कारबाही गरिएको विवरण प्रस्तुत गरिएको छ।
सन् २०२२ को जनमत सर्वेक्षणमा भ्रष्टाचारविरोधी अभियानप्रति नागरिक सन्तुष्टि ९७.४ प्रतिशत पुगेको र यो दर दस वर्षअघिको तुलनामा २२.४ प्रतिशत बिन्दुले बढी रहेको दाबी भाषणमा गरिएको छ।
विश्वका लागि चिनियाँ अनुभव
भाषणको निष्कर्षमा सी चिनफिङको पार्टी निर्माणसम्बन्धी विचारलाई नयाँ युगमा चिनियाँ कम्युनिस्ट पार्टीले शासन सञ्चालनका क्रममा हासिल गरेको अनुभव र ज्ञानको परिणामका रूपमा प्रस्तुत गरिएको छ।
यस विचारले चीनको आर्थिक विकास, सामाजिक स्थायित्व, गरिबी निवारण, पर्यावरणीय संरक्षण र भ्रष्टाचारविरोधी अभियानलाई मार्गनिर्देशन गरेको वक्ताको भनाइ छ।
चीनको पार्टी निर्माण र शासन अभ्यासले विश्व राजनीतिक सभ्यताका लागि चिनियाँ अनुभव तथा समाधान उपलब्ध गराएको दाबी गर्दै सीपीसीले चीनको राष्ट्रिय पुनरुत्थान र विश्व शान्ति तथा विकासमा थप योगदान दिने विश्वास व्यक्त गरिएको छ।