फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच आइतबार निर्णायक भिडन्त हुँदैछ। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियमलाई प्रतियोगिताका लागि दिइएको नाम ‘न्युयोर्क न्युजर्सी स्टेडियम’मा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ। नेपाली समयअनुसार खेल सोमबार बिहान १२:४५ बजे सुरु हुनेछ।
फाइनललाई अर्जेन्टिनाका ३९ वर्षीय कप्तान लियोनल मेस्सी र स्पेनका १९ वर्षीय युवा स्टार लामिन यामालबीचको पुस्तान्तरणको प्रतीकात्मक भिडन्तका रूपमा हेरिएको छ। बार्सिलोनाको प्रसिद्ध ‘ला मासिया’ एकेडेमीबाट उदाएका दुवै खेलाडी विश्व फुटबलका दुई फरक पुस्ताको प्रतिनिधित्व गर्दै सबैभन्दा ठूलो मञ्चमा आमनेसामने हुन लागेका हुन्।
सन् २०२२ को विश्वकप तथा सन् २०२४ को कोपा अमेरिका विजेता अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप जित्ने लक्ष्यमा छ। अर्जेन्टिनाले यसअघि सन् १९७८, १९८६ र २०२२ मा उपाधि जितेको थियो। आइतबार विजयी भए अर्जेन्टिनाको विश्वकप उपाधि संख्या चार पुग्नेछ।
यता, सन् २०२४ को युरोपेली च्याम्पियन स्पेन दोस्रो विश्वकप उपाधिको खोजीमा छ। स्पेनले पहिलोपटक सन् २०१० मा विश्वकप जितेको थियो। उपाधि जिते स्पेन पुरुष र महिला दुवैतर्फको विश्वकप उपाधि एकै समयमा आफूसँग राख्ने पहिलो राष्ट्रसमेत बन्नेछ।
यस फाइनललाई प्रतियोगिताको उत्कृष्ट आक्रमण र उत्कृष्ट रक्षाबीचको परीक्षा पनि मानिएको छ। अर्जेन्टिनाले फाइनलसम्म आइपुग्दा प्रतियोगिताकै सर्वाधिक १९ गोल गरेको छ। अर्कोतर्फ, स्पेनले सात खेलमा केवल एक गोल बेहोरेको छ। स्पेनविरुद्ध प्रतियोगितामा भएको एकमात्र गोल बेल्जियमले क्वार्टरफाइनलमा गरेको थियो।
अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनलको यात्रा तय गरेको हो। एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले अन्तिम समयमा गोल गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप फाइनलमा पुर्याएका थिए। स्पेनले भने बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई २-० ले पराजित गर्दै सन् २०१० पछि पहिलोपटक फाइनलमा स्थान बनाएको हो।
स्पेन पछिल्ला ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ। प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले बलमाथिको नियन्त्रण, सटीक पास र संगठित रक्षालाई मुख्य हतियार बनाएको छ। लियोनल स्कालोनीको अर्जेन्टिना भने मेस्सीको सिर्जनशीलता, अनुभव र कठिन परिस्थितिमा नतिजा निकाल्ने क्षमतामा निर्भर देखिन्छ।
४८ टोली सहभागी विश्वकपको यो १०४औँ तथा अन्तिम खेल हो। एकातिर लगातार दोस्रो विश्वकप जित्दै इतिहास दोहोर्याउने अर्जेन्टिनाको लक्ष्य छ भने अर्कोतिर १६ वर्षपछि विश्व फुटबलको शिखरमा फर्किने स्पेनको सपना छ। विश्वभरका फुटबल समर्थकको ध्यान अब मेस्सीको अनुभव र यामालको युवा प्रतिभाबीच हुने निर्णायक प्रतिस्पर्धामा केन्द्रित भएको छ।