सुबोध कठायतको टोलीलाई १ हजार अमेरिकी डलर बीउ पुँजी, ५ हजार डलरको एडब्ल्यूएस क्लाउड क्रेडिट र एनसेलको वृद्धि अनुदान
काठमाडौं – नेपालका कम चर्चित पर्यटकीय गन्तव्य, स्थानीय खाना, संस्कृति र यात्रासम्बन्धी उपयोगी सूचना कृत्रिम बुद्धिमत्ता अर्थात् एआईमार्फत यात्रुसम्म पुर्याउने उद्देश्यले विकास गरिएको ‘नेप्टौ’ एपले ‘कोड फर इम्प्याक्ट’ राष्ट्रिय प्रतिस्पर्धामा विजय हासिल गरेको छ।
अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालित छमहिने प्रविधि तथा उद्यमशीलता कार्यक्रममा सुबोध कठायतको टोली ‘नेप्टौ’ चार राष्ट्रिय विजेतामध्ये एक बनेको हो। काठमाडौंमा जुलाई १७ मा आयोजित राष्ट्रिय प्रदर्शनी तथा अन्तिम प्रतिस्पर्धामा नेप्टौसँगै आशिर्वाद केयर, डाटाहिती र सिन्याप्टिक विजेता घोषित भएका थिए। प्रत्येक विजेता टोलीले एक हजार अमेरिकी डलरको पुँजी, पाँच हजार डलर बराबरको अमेजन वेब सर्भिसेज अर्थात् एडब्ल्यूएस क्लाउड क्रेडिट र निरन्तर व्यावसायिक तथा प्राविधिक सहयोग प्राप्त गरेका छन्। चार विजेता टोलीका लागि एनसेलले थप १० लाख रुपैयाँ उपलब्ध गराएको छ, जसअनुसार प्रत्येक टोलीले दुई लाख ५० हजार रुपैयाँ बराबरको वृद्धि अनुदान पाउनेछ।
अमेरिकी दूतावास नेपालको सहयोगमा सुरु भएको ‘कोड फर इम्प्याक्ट’ कार्यक्रम आद्यन्त एडभाइजरीले अमेरिकन चेम्बर अफ कमर्स इन नेपाललगायत संस्थासँगको सहकार्यमा कार्यान्वयन गरेको हो। जनवरी २०२६ मा सुरु भएको कार्यक्रममा देशभरबाट १९० टोलीले आवेदन दिएका थिए। तीमध्ये ३५ टोली भर्चुअल बुटक्याम्प, एआई प्रयोगशाला र सातै प्रदेशमा आयोजित ह्याकाथनका लागि छनोट भएका थिए। त्यसपछि १४ सेमिफाइनलिस्टले चार महिनासम्म ग्राहक प्रमाणीकरण, उत्पादन विकास, साइबर सुरक्षा, व्यावसायीकरण तथा लगानी तयारीसम्बन्धी विशेष मार्गदर्शन पाएका थिए। अन्तिम चरणमा सात टोली पुगेका थिए भने चार टोली राष्ट्रिय विजेता बने।
छरिएको पर्यटन सूचना एउटै एपमा
नेप्टौले नेपाल घुम्न चाहने स्वदेशी तथा विदेशी यात्रुले सामना गर्ने प्रमुख समस्या समाधान गर्ने लक्ष्य राखेको छ। टोलीका अनुसार नेपालबारे आवश्यक जानकारी सामाजिक सञ्जाल, सर्च इन्जिन, ब्लग, एआई उपकरण र ट्राभल एजेन्सीमा छरिएको छ। उपलब्ध सिफारिसहरू प्रायः उही चर्चित गन्तव्यमा सीमित हुने, स्थानीय अनुभव छुट्ने तथा सुरक्षा, यातायात र वास्तविक अवस्थासम्बन्धी जानकारी समयानुकूल र विश्वसनीय नहुने समस्या छ।
यसको समाधानका रूपमा नेप्टौलाई यात्रुको मोबाइलमै उपलब्ध हुने नेपालकेन्द्रित डिजिटल स्थानीय गाइडका रूपमा विकास गरिएको हो। एपले नक्सा वा सूचीमार्फत गन्तव्य खोज्न, प्रयोगकर्ताको रुचिअनुसार स्थान छनोट गर्न, स्थानीय खाना र सांस्कृतिक अनुभव पत्ता लगाउन तथा एआई सहायकको सहयोगमा व्यक्तिगत यात्रा तालिका बनाउन मद्दत गर्छ।
प्रतिस्पर्धामा प्रस्तुत अवधारणाअनुसार नेप्टौले स्थानीय रूपमा संकलन गरिएको सूचना, सुरक्षा विवरण र यात्रासम्बन्धी व्यावहारिक जानकारीलाई आपसमा जाँच गरी सिफारिस दिने प्रयास गर्छ। यसको ‘एजेन्टिक एआई’ प्रणालीले प्रयोगकर्ताको रुचि, समय, यात्रा शैली र योजनाअनुसार व्यक्तिगत यात्रा सुझाव तथा बहुदिने भ्रमण तालिका तयार गर्ने लक्ष्य राखेको छ। आयोजकको विवरणमा पनि नेप्टौलाई नक्सा, व्यक्तिगत सिफारिस, एआई सहायक र ट्रिप प्लानरमार्फत लुकेका गन्तव्य, स्थानीय परिकार तथा सांस्कृतिक अनुभव चिनाउने मोबाइल एपका रूपमा उल्लेख गरिएको छ।
अफलाइन नक्सादेखि आपत्कालीन सम्पर्कसम्म
नेप्टौको हाल उपलब्ध संस्करणमा छनोट गरिएका पर्यटकीय स्थल, मन्दिर, स्तूप, पदयात्रा मार्ग, भ्यु प्वाइन्ट, झरना, स्थानीय रेस्टुरेन्ट तथा कम परिचित गन्तव्य समावेश छन्। एपमा अन्तरक्रियात्मक नक्सा, वर्गअनुसार स्थान छान्ने सुविधा, दिनअनुसार यात्रा योजना, रुचिअनुसार एआई सिफारिस र नजिकका आपत्कालीन सेवामा सम्पर्क गर्ने व्यवस्था राखिएको छ।
इन्टरनेट नचल्ने स्थानमा समेत मुख्य गन्तव्य र नक्सा प्रयोग गर्न सकिने गरी आधारभूत सामग्री मोबाइल डिभाइसमै राखिएको नेप्टौले जनाएको छ। एप हाल आईफोन र आईप्याडका लागि एप्पलको एप स्टोरमा निःशुल्क उपलब्ध छ र यसको डेभलपरका रूपमा सुबोध कठायत सूचीकृत छन्।
प्रतिस्पर्धाका लागि तयार गरिएको नेप्टौको विवरणपत्रमा बन्द परीक्षण चरणमा २५ भन्दा बढी प्रयोगकर्ता सहभागी भएको, सात सय ५० भन्दा बढी आपत्कालीन सम्पर्क विवरण हातैले प्रमाणीकरण गरी प्रणालीमा समावेश गरिएको र पोखरामा यात्रुसँग अन्तर्वार्ता तथा प्रोटोटाइप परीक्षण गरिएको उल्लेख छ। सो विवरणमा १८ देखि ३५ वर्षका अन्तर्राष्ट्रिय तथा नेपाली स्वतन्त्र यात्रु, ब्याकप्याकर, भारतीय पर्यटक र विदेशबाट फर्किएका नेपालीलाई प्रारम्भिक लक्षित प्रयोगकर्ताका रूपमा राखिएको छ।
न्यूयोर्कबाट नेपालका लागि प्रविधि
प्रतिस्पर्धाको प्रस्तुतिमा सुबोधले आफू न्यूयोर्क सहरमा डाटा इन्जिनियरका रूपमा कार्यरत रहेको बताएका थिए। टोलीमा न्यु जर्सी इन्स्टिच्युट अफ टेक्नोलोजी (एनजेआईटी)सँग आबद्ध एआई अनुसन्धानकर्ता रिकार्डोको पनि सहभागीता रहेको थियो।
टोलीले ५० भन्दा बढी अमेरिकी, भारतीय, नेपाली र विभिन्न देशका ब्याकप्याकरसँग कुराकानी गर्दा अधिकांश यात्रुले एउटै प्रकारका सिफारिस, छरिएको सूचना र त्यसको विश्वसनीयता पुष्टि गर्न कठिन हुने समस्या सुनाएको जनाएको छ। त्यसपछि नेपालकै स्थानीय सन्दर्भ, सुरक्षा सूचना र व्यक्तिगत यात्रा आवश्यकतामा केन्द्रित एप विकासलाई अगाडि बढाइएको हो।
नेप्टौले आगामी चरणमा सूचनाको प्रमाणीकरण प्रणाली थप गहिरो बनाउने र यात्रुलाई प्रमाणित स्थानीय गाइड, होमस्टे तथा पर्यटन व्यवसायसँग प्रत्यक्ष जोड्ने डिजिटल बजार विकास गर्ने योजना बनाएको छ। आधारभूत गन्तव्य खोजी सेवा निःशुल्क राख्दै उन्नत एआई यात्रा योजना, प्रमाणित व्यवसाय सूची, बुकिङ कमिसन तथा साझेदारीबाट आम्दानी गर्ने यसको व्यावसायिक योजना छ।
अन्तिम प्रतिस्पर्धाको मूल्यांकन अमेरिकी दूतावास नेपालका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, शार्क ट्यांक नेपालका लगानीकर्ताहरू आनन्द बगरिया, क्याबिनेट श्रेष्ठ र ऋतु वैद्य तथा एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले गरेका थिए। आयोजकका अनुसार विजेता तथा अन्य फाइनलिस्ट टोलीले आगामी दिनमा पनि सम्भावित लगानीकर्ता, ग्राहक र व्यावसायिक साझेदारसँग सम्पर्क, मार्गदर्शन तथा प्राविधिक सहयोग पाउनेछन्। नेपाल भ्रमणलाई सुरक्षित, व्यक्तिगत र स्थानीय समुदायका लागि आर्थिक रूपमा लाभदायक बनाउँदै नेपाल र विश्वबीच प्रविधिमा आधारित पर्यटन सेतु निर्माण गर्ने नेप्टौको लक्ष्य छ।