सरकारले सरकारी सेवाबाट अवकाश लिएर उपदान वा निवृत्तिभरण प्राप्त गरिरहेका तर पुनः करार सेवामा कार्यरत कर्मचारीको सम्झौता अन्त्य गर्ने निर्णय गरेको छ। यस्ता कर्मचारीलाई २०८३ साउन १ गतेदेखि सेवा निरन्तरता नदिई करार सम्झौताबाट बिदाइ गरिने भएको हो।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको परिपत्रअनुसार मन्त्रिपरिषद्को २०८३ असार ३२ गतेको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षणका क्रममा दरबन्दी कटौती हुने मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत करार कर्मचारीको व्यवस्थापनसम्बन्धी निर्णय गरेको हो।

सरकारले निवृत्तिभरण वा उपदान लिइरहेका कर्मचारीको सम्झौता अन्त्य गरेपछि बाँकी करार कर्मचारीलाई तत्काल सेवाबाट नहटाई अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता गरी ‘पुल’मा राख्ने निर्णय गरेको छ। पुलमा राखिएका कर्मचारीको एकीकृत विवरण मन्त्रालयले अद्यावधिक गर्नेछ।

संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत भएपछि सम्बन्धित निकायले आवश्यकताका आधारमा पुलमा रहेका कर्मचारीलाई काममा लगाउन सक्नेछ। नयाँ स्थापना भएका निकायमा दरबन्दी सिर्जना भएमा वा कुनै कार्यालयमा स्वीकृत दरबन्दी रिक्त भएमा नयाँ व्यक्तिलाई करारमा नियुक्त नगरी पुलमा रहेका कर्मचारीलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्ता कर्मचारी आवश्यक पर्ने निकायले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी नयाँ करार सम्झौता गरेर काममा लगाउनुपर्नेछ।

त्यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीमा पर्ने निकायको प्रक्रिया पूरा नभएसम्म सम्पत्ति संरक्षण, सुरक्षा, दायित्व हस्तान्तरण तथा फरफारकका लागि आवश्यक न्यूनतम जनशक्ति कायम गरिनेछ। सम्बन्धित मन्त्रालयले आवश्यक कर्मचारी संख्या यकिन गरी सोही निकायमा कार्यरत करार कर्मचारीमध्येबाट काममा लगाउन सक्नेछ।

यसरी काममा लगाइएका कर्मचारीको तलब तथा भत्ताका लागि सम्बन्धित मन्त्रालयको अनुरोधमा अर्थ मन्त्रालयले बजेटको व्यवस्था गर्ने निर्णयमा उल्लेख छ।

सरकारले पुलमा राखिएपछि पनि व्यवस्थापन हुन नसकेका करार कर्मचारीको सेवा सुविधा र सम्झौता अन्त्य गर्दा उपलब्ध गराउनुपर्ने सुविधाबारे अध्ययन गर्ने भएको छ। आगामी दिनमा गरिने करार सम्झौतामा समेट्नुपर्ने न्यूनतम सेवासुविधाका सर्तसमेत निर्धारण गरी मन्त्रालयले एक महिनाभित्र अध्ययन प्रतिवेदन र उपयुक्त सिफारिस पेस गर्ने जनाएको छ।