बेइजिङ,  चीनको राजधानी बेइजिङमा नेपालमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल लगानी सम्मेलन सुरु भएको छ। बेइजिङस्थित नेपाली राजदूतावासले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चिनियाँ परिषद्सँगको संयुक्त आयोजनामा बिहीबार सम्मेलन आयोजना गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै चीनका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनालले नेपाल चिनियाँ लगानीकर्ताका लागि उपयुक्त गन्तव्य भएको बताउँदै जलविद्युत्, पर्यटन, पूर्वाधार, सेवा क्षेत्र, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गर्नुभयो। नेपालमा गरिएको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुने र चिनियाँ लगानीले नेपालको अर्थतन्त्रलाई थप गतिशील बनाउने उहाँको भनाइ थियो। कार्यवाहक राजदूत खनालले नेपालमा लगानी बढ्दा दुवै देशलाई फाइदा पुग्ने उल्लेख गर्दै चीनले जुलाई १ देखि विदेशमा चिनियाँ लगानीसम्बन्धी ल्याएको नयाँ नीतिबाट नेपालले पनि लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। त्यस अवसरमा उहाँले चीन सरकारप्रति आभारसमेत प्रकट गर्नुभयो।

कार्यक्रममा नेपाली दूतावासकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँले जलविद्युत्, पर्यटन, सेवा क्षेत्र, स्वास्थ्य, पूर्वाधार र शिक्षालाई चिनियाँ लगानीकर्ताका लागि आकर्षक क्षेत्रका रूपमा प्रस्तुत गर्नुभयो। विश्व बैंकका तथ्यांकलाई उद्धृत गर्दै उहाँले नेपालको अर्थतन्त्र दक्षिण एसियाकै स्थिर र सम्भावनायुक्त अर्थतन्त्रमध्ये एक रहेको बताउनुभयो।

नेपाल र चीन सीमा जोडिएका छिमेकी मुलुक भएको तथा दुई देशबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै अर्यालले चिनियाँ लगानीकर्ताका लागि नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय भएको धारणा राख्नुभयो। उहाँका अनुसार सम्मेलनको उद्देश्य नेपाली र चिनियाँ व्यवसायीबीच सम्पर्क सञ्जाल विस्तार गर्नु, लगानीका अवसरबारे जानकारी गराउनु र दुवै देशका लगानीकर्ताबीच बी टु बी समन्वय गराउनु हो।

सम्मेलनमा दुई दर्जनभन्दा बढी नेपाली व्यवसायी सहभागी भएका छन् भने पहिलो दिन चीनका करिब ८० कम्पनीका लगानीकर्ता उपस्थित भएका छन्। नेपालमा लगानी जुटाउने उद्देश्यसहित नेपाली व्यवसायी प्रतिनिधिमण्डल स्वतस्फूर्त रूपमा बेइजिङ पुगेको हो। कार्यक्रमको संयोजन दूतावासकी आर्थिक कूटनीति प्रमुखसमेत रहनुभएकी इकोनोमिक मिनिस्टर पार्वती अर्यालले गर्नुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै चीनको अन्तर्राष्ट्रिय वाणिज्य महासंघ, द्विपक्षीय सहयोग विभागका महानिर्देशक शु छ्याङले चीन र नेपालबीच ऐतिहासिक तथा सुमधुर सम्बन्ध रहेको बताउनुभयो। उहाँले चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक र उत्साहित रहेको धारणा व्यक्त गर्नुभयो।सम्मेलनमा नेपालको व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंह, नेपाल उद्योग वाणिज्य महासंघको निर्यात समितिका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल निर्यात व्यवसायी महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे र लुम्बिनी फर्म्यासिटिकल प्रालिका अध्यक्ष डा. ध्रुव भट्टराईले नेपालमा लगानीका अवसरबारे मन्तव्य राख्नुभयो।

त्यसैगरी नेपालमा लगानी गरिरहेका चिनियाँ कम्पनीका प्रतिनिधिहरूले पनि आफ्ना अनुभव सुनाएका थिए। चीनको प्रथम राजमार्ग इन्जिनियरिङ ग्रुपका उपमहाप्रबन्धक लियाङ छिङशान र ताख्दा टेक्नोलोजी समूहका जनसम्पर्क उपमहाप्रबन्धक वाङ चुशानले नेपालमा लगानी गर्दाको अनुभव प्रस्तुत गर्दै नेपालमा लगानीका लागि राम्रो वातावरण र अवसर रहेको बताउनुभयो।

इकोनोमिक मिनिस्टर अर्यालका अनुसार दोस्रो दिन नेपाली लगानीकर्तालाई अझ बढी चिनियाँ कम्पनीहरूसँग भेटघाट र सम्पर्क गराउने व्यवस्था मिलाइनेछ। यसका लागि पहिलो दिनभन्दा फरक चिनियाँ कम्पनीहरूलाई पनि सहभागी गराइने तयारी गरिएको छ। सम्मेलनमा नेपाली र चिनियाँ व्यावसायिक प्रतिनिधिहरूका प्रस्तुति, अनुभव आदानप्रदान र मन्तव्यपछि प्यानल छलफल गरिएको थियो। कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर, पारस्परिक आदानप्रदान तथा सम्भावित सहकार्यबारे छलफल सत्र सञ्चालन गरिएको थियो।

(यो सामग्री CGTN नेपाली सेवाबाट साभार गरिएको लेखको पुनर्लेखित संस्करण हो।)