बेइजिङ । चीनको चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) ले भेनेजुएलामा हालै आएको विनाशकारी भूकम्पपछि राहत तथा पुनर्निर्माणका लागि थप १० करोड युआन बराबरको आपतकालीन मानवीय सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार बेइजिङस्थित सीआईडीसीएको मुख्यालयमा आयोजित सन् २०२६ को दोस्रो त्रैमासिक नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ताङ यिङले चीनले भूकम्पलगत्तै नगद राहत उपलब्ध गराइसकेको र अब राहत तथा पुनर्निर्माणलाई सघाउन थप सामग्री सहायता दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, भूकम्पपछि राष्ट्रपति सी चिनफिङले जुन २६ मा भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजलाई समवेदना सन्देश पठाउनुभएको थियो । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेको छ।

पत्रकार सम्मेलनमा सीआईडीसीएले चीनको अन्तर्राष्ट्रिय विकास सहकार्यका अन्य उपलब्धिहरू पनि सार्वजनिक गरेको छ । जसअनुसार, सन् २०२६ को पहिलो ६ महिनामा चीन भ्रमणमा आएका विभिन्न देशका राष्ट्राध्यक्षहरूसँग पूर्वाधार, प्राविधिक तथा व्यावसायिक शिक्षा, स्मार्ट शिक्षा, कृषि, गरिबी न्यूनीकरण, सार्वजनिक स्वास्थ्य र मानव स्रोत विकासलगायत क्षेत्रमा दर्जनौँ विकास सहकार्य सम्झौता सम्पन्न भएका छन् ।

ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) अन्तर्गत हालसम्म १,८०० भन्दा बढी विकास परियोजना सञ्चालनमा आइसकेको सीआईडीसीएले जनाएको छ । यी परियोजनाले जीडीआईका आठ प्राथमिकता क्षेत्र तथा संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्यलाई समेटेका छन् । साथै, विकासशील मुलुकहरूमा डिजिटल पूर्वाधार विस्तार र डिजिटल विभाजन कम गर्न चीनले डिजिटल साउथ कार्यक्रम अघि बढाइरहेको पनि जानकारी दिइयो ।

अफ्रिकामा फैलिएको इबोला महामारी नियन्त्रणका लागि चीनले प्रजातान्त्रिक गणतन्त्र कंगोलाई आपतकालीन सहायता उपलब्ध गराएको, चिकित्सकहरूको टोली पठाएको तथा युगान्डामा पनि महामारी नियन्त्रण सामग्री पठाउने तयारी भइरहेको सीआईडीसीएले जनाएको छ । हाल अफ्रिकाका विभिन्न देशमा करिब एक हजार चिनियाँ स्वास्थ्यकर्मी कार्यरत छन् ।

खेलकुद पूर्वाधार सहयोगबारे बोल्दै सीआईडीसीए प्रवक्ता यिङले चीनको सहयोगमा सन् २०१४ मा निर्माण भएको केप भर्डेको राष्ट्रिय रंगशालामा हालै सम्पन्न विश्वकप छनोटको निर्णायक खेलले देशलाई इतिहासमै पहिलोपटक फिफा विश्वकपमा स्थान दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । रंगशालाको दीर्घकालीन सञ्चालनका लागि चीनले प्राविधिक सहयोग र स्थानीय जनशक्ति तालिमसमेत निरन्तर उपलब्ध गराइरहेको उहाँले बताउनुभयो ।

आसियानसँगको सहकार्यबारे सीआईडीसीएले गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र क्षमता अभिवृद्धिका क्षेत्रमा २० भन्दा बढी परियोजना सञ्चालन भइरहेको जानकारी दिएको छ । यी परियोजनाहरू ग्लोबल डेभलपमेन्ट एन्ड साउथ–साउथ कोअपरेसन फन्डमार्फत संयुक्त राष्ट्रसंघका विभिन्न निकायसँगको सहकार्यमा कार्यान्वयन भइरहेका छन्।

पत्रकार सम्मेलनमा पहिलो पटक समावेश गरिएको विकास सहकार्य परियोजनाको विशेष प्रस्तुति अन्तर्गत लाओसको भियन्टियान सायसेत्ता न्यून-कार्बन प्रदर्शन क्षेत्रलाई उदाहरणका रूपमा प्रस्तुत गरियो। चीनको सहयोगमा निर्माण गरिएको यस परियोजनामा सौर्य सडकबत्ती, विद्युतीय बस तथा हरित पूर्वाधार विकास गरिएको छ। सम्बन्धित निकायका अनुसार, परियोजनाबाट वार्षिक १,२०० टनभन्दा बढी कार्बन उत्सर्जन घट्ने, जुन एक लाखभन्दा बढी रूख रोपिएसरह हुने अनुमान गरिएको छ।

प्रवक्ता ताङ यिङले चीनले आगामी दिनमा पनि विशेषगरी ग्लोबल साउथका विकासशील मुलुकहरूसँग हरित विकास, जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य, विपद् व्यवस्थापन र दिगो आर्थिक विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय विकास सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।