बेइजिङको चाओयाङ जिल्ला । आधुनिक गगनचुम्बी संरचनाहरूको जंगल, फराकिला राजमार्गहरूको जाल र सधैँ चलायमान सवारीको भीडभाडबीच एउटा विशाल सांस्कृतिक महल ठडिएको छ- चिनियाँ राष्ट्रिय चलचित्र संग्रहालय ।

बाहिर हरियाली र रङ्गीचङ्गी फूलबगैँचाको कोमलता । भित्र प्रकाश र छायाको रोमाञ्चक खेल । यस भवनको द्वार पार गर्नासाथ अनुभूति हुन्छ- एउटा शक्तिराष्ट्रको राजधानीमा आधुनिकताको गति र सांस्कृतिक विरासतको भव्यताबीच एक अद्भूत सामञ्जस्य ।

विशाल क्षेत्रफलमा फैलिएको यो संरचनालाई बाहिरी रूपमा नै कलात्मक र प्रतीकात्मक रुपमा डिजाइन गरिएको देखिन्छ । यसको वास्तुकलामा प्रकाश र छायाको बेजोड प्रयोग गरिएको छ, जसले गतिशीलता, परिवर्तन र दृश्यात्मक कथाजस्ता चलचित्रका विशेषतालाई झल्काउँछ ।

यस संग्रहालयमा इतिहासलाई केवल कलात्मक उपलब्धिको रूपमा होइन, समाजको जीवित दस्तावेजका रूपमा अभिलेख गरिएको छ । यहाँ प्रत्येक तस्बिर, पोस्टर र चलचित्रका क्लिपहरुले चिनियाँ समाजको परिवर्तनशील यात्रा, राजनीतिक उतारचढाव, सामाजिक संघर्ष र सांस्कृतिक पुनर्जागरणको कथा भनिरहेजस्तो लाग्छ ।

चलचित्रलाई यहाँ राष्ट्रको स्मृति–भण्डारका रूपमा प्रस्तुत गरिएको छ, जहाँ पर्दामा देखिएका कथाहरूले जनजीवनको अनुभव र अनुभूति बोकेका छन् । त्यसैले यो संग्रहालय चिनियाँ चेतना, विचार र पहिचान निर्माणको दृश्यात्मक अभिलेख बनेको छ ।

मानव सभ्यताको इतिहासमा केही यस्ता आविष्कारहरू छन्, जसले संसारलाई हेर्ने हाम्रो दृष्टिकोण नै परिवर्तन गरिदिए । चलचित्र त्यस्तै एउटा आविष्कार हो । यसले समयलाई दृश्यमा कैद गर्न सक्यो, स्मृतिलाई सुरक्षित राख्न सक्यो र लाखौँ मानिसका कथा एउटै पर्दामा जीवित बनाउन सक्यो ।

चिनियाँ चलचित्रको यात्रा पनि केवल मनोरञ्जनको इतिहास होइन, यो राष्ट्रको परिवर्तन, संघर्ष, सपना र सांस्कृतिक पुनर्जागरणको कथाक्रम हो । पहिलोपटक पर्दामा झल्किएको एउटा सानो ओपेरा दृश्यदेखि आजका अत्याधुनिक डिजिटल एनिमेसनसम्म आइपुग्दा चिनियाँ चलचित्रले एक शताब्दीभन्दा लामो रोमाञ्चक यात्रा तय गरेको छ ।

यो यात्रा अग्रज कलाकारहरूको समर्पण, प्राविधिक नवीनता, सामाजिक परिवर्तन र राष्ट्रिय आकाङ्क्षासँग गाँसिएको छ । युद्ध, क्रान्ति, निर्माण र विकासका प्रत्येक चरणमा चलचित्रले समयको साक्षीको भूमिका निर्वाह गरेको छ ।

चलचित्रको जन्म
२८ डिसेम्बर १८९५ ।
फ्रान्सको राजधानी पेरिसमा त्यस दिन इतिहास लेखिँदै थियो । लुमिएर दाजुभाइ अगस्टे र लुइसले पहिलोपटक टिकट बिक्री गरेर सार्वजनिक चलचित्र प्रदर्शन गरे । उनीहरूले निर्माण गरेको ‘सिनेमाटोग्राफ’ यन्त्रले चलायमान तस्बिरलाई पर्दामा देखाउन सफल भयो ।

दर्शकहरूका लागि त्यो अनुभव जादुभन्दा कम थिएन । मानिसहरू पहिलोपटक पर्दामा जीवनलाई चलिरहेको अवस्थामा देखिरहेका थिए । यही क्षणबाट चलचित्र कला, विज्ञान र मनोरञ्जनको नयाँ युग सुरु भयो ।

लुमिएर दाजुभाइले आफ्ना क्यामराम्यानहरूलाई संसारभर पठाए । उनीहरूले विभिन्न देशका दृश्यहरू खिचे, नयाँ संस्कृति र समाजलाई चलचित्रमार्फत विश्वसामु प्रस्तुत गरे । चलचित्रको उज्यालो यात्रा यसरी विश्वभर फैलिन पायो ।

चीनमा चलचित्रको आगमन
फ्रान्समा चलचित्रको जन्म भएको एक वर्ष नबित्दै यसको उज्यालो चीनसम्म पुग्यो ।

सन् १८९६ मा सांघाईमा पहिलोपटक चलचित्र प्रदर्शन गरियो । चिनियाँ दर्शकका लागि यो पूर्णतः नयाँ अनुभव थियो । पर्दामा चलिरहेका दृश्यहरू देख्दा धेरै मानिसहरू आश्चर्यचकित भए । कसैले यसलाई “पश्चिमी छाया नाटक” भने, कसैले आधुनिक जादु ।

यस नयाँ कलाप्रति जनचासो तीव्र रूपमा बढ्दै गयो । बेइजिङ र सांघाईका प्रमुख क्षेत्रमा नियमित चलचित्र प्रदर्शन हुन थाले । सन् १९०८ मा सांघाईमा चीनको पहिलो चलचित्र हल स्थापना भयो, जसले चलचित्र उद्योगको भविष्यका लागि शिलान्यास गर्‍यो ।

पहिलो चिनियाँ चलचित्र
सन् १९०५ को शरद ऋतु । बेइजिङका उद्यमी रेन छिङताईले पेकिङ ओपेराका महान् कलाकार तान सिनपेइसँग मिलेर एउटा ऐतिहासिक काम गरे । उनीहरूले ‘डिङ्जुनसान’ नामक पेकिङ ओपेराको अंश चलचित्रमा कैद गरे ।

यो साधारण रेकर्डिङ मात्र थिएन । यही कृतिलाई चिनियाँ हातले निर्माण गरेको पहिलो चलचित्र मानिन्छ । त्यसबेला कसैले कल्पना पनि गरेको थिएन कि यही सानो प्रयासले भविष्यमा विश्वकै ठूलोमध्येको एक चलचित्र बजारको जग बसाल्नेछ ।

डिङ्जुनसानको प्रदर्शनसँगै चिनियाँ चलचित्रको जन्म भएकाले रेन छिङताईलाई आज पनि चिनियाँ चलचित्र उद्योगका अग्रज तथा संस्थापकका रूपमा सम्मान गरिन्छ ।

यसरी प्रारम्भ भएको चिनियाँ चलचित्र यात्रा पछि मौन चलचित्र, ध्वनि चलचित्र, रङ्गीन चलचित्र, वाइडस्क्रिन, थ्री-डी र डिजिटल युग हुँदै आज विश्व चलचित्र उद्योगको एक महत्त्वपूर्ण शक्तिका रूपमा विकसित भएको छ ।

प्रारम्भिक प्रयोग र सम्भावनाको खोजी (१९११–१९२० को दशक)
चिनियाँ चलचित्रको जन्म त भइसकेको थियो तर यसको भविष्य कस्तो हुनेछ भन्ने अझै अलमल थियो । तर त्यही यही समयका अग्रजहरूले चलचित्रलाई केवल मनोरञ्जनको माध्यम नभई शिक्षा, इतिहास, समाज र संस्कृतिको दस्तावेजका रूपमा प्रयोग गर्न थाले ।

सन् १९११ मा निर्माण गरिएको ‘वुहान युद्ध’ लाई चीनको पहिलो वृत्तचित्र मानिन्छ। यसले तत्कालीन ऐतिहासिक घटनालाई चलचित्रमार्फत अभिलेख गर्ने नयाँ परम्पराको सुरुवात गर्‍यो ।

त्यसको दुई वर्षपछि सन् १९१३ मा झेङ झेङ्छिउ र झाङ सिचुआनले ‘द डिफिकल्ट कपल’ निर्माण गरे । यो चीनको पहिलो कथात्मक चलचित्र थियो, जसमा चिनियाँ पात्र, चिनियाँ परिवेश र चिनियाँ समाजको कथा प्रस्तुत गरिएको थियो । यसले विदेशी प्रभावबाट बाहिर निस्केर आफ्नै सांस्कृतिक पहिचान निर्माण गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्यो।

उही वर्ष हङकङमा लाइ मान-वाईले ‘झुआङ्जी आफ्नी पत्नीको परीक्षा गर्छन्’ निर्माण गरे । यसलाई हङकङ चलचित्र उद्योगको प्रारम्भिक आधारशिला मानिन्छ ।

समयसँगै चलचित्रको उपयोगिता विस्तार हुँदै गयो । सन् १९१८ मा कमर्सियल प्रेसले चलचित्र विभाग स्थापना गर्‍यो र शैक्षिक तथा वैज्ञानिक विषयमा चलचित्र बनाउन थाल्यो । दृष्टिविहीन बालबालिकाको शिक्षा, रेशम कीरा पालन, स्वास्थ्य, सरसफाइ र बाल शिक्षासम्बन्धी चलचित्रहरू निर्माण भए । यसले चलचित्रलाई ज्ञान र जनचेतनाको माध्यमका रूपमा स्थापित गर्‍यो ।

सन् १९२० को दशकमा चीनमा चलचित्र निर्माण कम्पनीहरूको संख्या बढ्न थाल्यो । नयाँ निर्देशक, लेखक, अभिनेता र प्राविधिकहरू चलचित्र क्षेत्रमा प्रवेश गरे । यही दशकले भविष्यको विशाल चलचित्र उद्योगका लागि आवश्यक प्रतिभा र संरचना तयार गरिदियो ।

मौनताबाट आवाजसम्म (१९२७–१९३८)
चलचित्रको प्रारम्भिक संसार मौन थियो । पर्दामा पात्रहरू बोल्थे, हाँस्थे, रोइरहन्थे तर दर्शकहरूले उनीहरूको आवाज सुन्न सक्दैनथे । कथालाई बुझाउन कलाकारहरूले अनुहारका भाव, शरीरका हाउभाउ र अन्तरशीर्षकहरूको सहारा लिन्थे । हलमा भने पियानो वा सानो सङ्गीत समूहले प्रत्यक्ष सङ्गीत बजाएर वातावरण सिर्जना गर्थे ।

चीनमा पनि चलचित्रको प्रारम्भिक युग पूर्ण रूपमा मौन थियो । कलाकारहरूको अभिनय क्षमता नै कथाको आत्मा थियो ।

सन् १९२७ मा अमेरिकामा ‘द ज्याज सिङ्गर’ प्रदर्शन भएपछि चलचित्रमा ध्वनिको नयाँ युग सुरु भयो । संसारभर चलचित्र उद्योग परिवर्तनको दिशामा अघि बढ्यो ।

चीनले पनि सन् १९३० देखि ध्वनि प्रविधि अपनायो । तर यो यात्रा सहज थिएन । ध्वनि रेकर्ड गर्ने उपकरण अत्यन्त महँगा थिए । प्राविधिक ज्ञान सीमित थियो र अधिकांश चलचित्र हलमा ध्वनि बजाउने सुविधा नै थिएन ।

यही चुनौतीबीच सन् १९३१ मा ‘द रेड पियोनी’ निर्माण भयो । यसलाई चीनको पहिलो ध्वनि चलचित्र मानिन्छ । यद्यपि यसको ध्वनि गुणस्तर आजको दृष्टिले निकै सामान्य थियो । तर यसले नयाँ युगको ढोका खोलिदियो ।

धेरै वर्षसम्म मौन र ध्वनि चलचित्र सँगसँगै निर्माण भए । सहरका आधुनिक हलहरूमा ध्वनि चलचित्र देखाइन्थे भने ग्रामीण क्षेत्रमा अझै मौन संस्करण प्रदर्शन गरिन्थे ।

सन् १९३८ मा आइपुग्दा भने मौन चलचित्रको युग समाप्त भयो । चलचित्रले वास्तवमा आफ्नो आवाज पाएको थियो । संवाद, सङ्गीत र ध्वनि प्रभावहरूले कथालाई अझ जीवन्त र भावनात्मक बनाउन सघाए ।

राष्ट्रिय चेतनाको आवाज (१९३१–१९३७)
सन् १९३० को दशक चीनका लागि अशान्त समय थियो । जापानी आक्रमण र राष्ट्रिय संकटले देशलाई गम्भीर चुनौती दिइरहेको थियो । समाजमा देशभक्ति, एकता र राष्ट्रिय चेतनाको आवश्यकता तीव्र रूपमा महसुस भइरहेको थियो ।

यही पृष्ठभूमिमा वामपन्थी चलचित्र आन्दोलनको उदय भयो ।

यस आन्दोलनले चलचित्रलाई मनोरञ्जनको साधन मात्र होइन भन्दै समाज परिवर्तन र जनचेतना जगाउने माध्यमका रूपमा प्रयोग गर्‍यो । प्रगतिशील लेखक, कलाकार र बुद्धिजीवीहरू चलचित्र उद्योगमा प्रवेश गरे । उनीहरूले मजदुर, किसान, गरिब वर्ग र राष्ट्रिय संघर्षका कथाहरूलाई पर्दामा ल्याए ।

सिया यान यस आन्दोलनका प्रमुख विचारक र नेतृत्वकर्ता थिए । उनले चलचित्रलाई जनताको जीवनसँग जोड्ने प्रयास गरे । उनका पटकथाहरूले सामाजिक यथार्थ, असमानता र परिवर्तनको आकाङ्क्षालाई सशक्त रूपमा प्रस्तुत गरे ।

युआन मुजीले निर्देशन गरेका चलचित्रहरूले पनि नयाँ सोच र कलात्मक शैलीलाई स्थापित गरे । ‘सडकको स्वर्गदूत’ जस्ता कृतिहरू आज पनि चिनियाँ चलचित्र इतिहासका उत्कृष्ट नमुनामा गनिन्छन् ।

झेङ झेङ्छिउ र लाइ मान-वाईजस्ता अग्रजहरूले निर्माण गरेको आधारमाथि उभिएर यो आन्दोलनले चिनियाँ चलचित्रलाई सामाजिक जिम्मेवारी र कलात्मक गहिराइ प्रदान गर्‍यो ।

यस अवधिमा चलचित्र केवल पर्दामा देखिने कथा रहेन, यो समयको आवाज बन्यो, जनताको अभिव्यक्ति बन्यो र राष्ट्रको भविष्यको आशा बन्यो ।

चलचित्रबाट जन्मिएको राष्ट्रको गीत (१९३५–१९४९)
कहिलेकाहीँ एउटा गीतले इतिहासको दिशा बदलिदिन्छ । चीनको राष्ट्रिय गानको कथा पनि चलचित्रसँग जोडिएको यस्तै प्रेरणादायी कथा हो ।
सन् १९३५ मा निर्देशक युआन मुजीले निर्माण गरेको चलचित्र ‘संकटग्रस्त समयका सन्तान’ प्रदर्शन भयो । यो चलचित्र विदेशी आक्रमण र राष्ट्रिय संकटसँग जुधिरहेको चीनको पीडा, साहस र सङ्कल्पको अभिव्यक्ति थियो ।

यस चलचित्रका लागि नाटककार तियान हानले गीत लेखे र युवा सङ्गीतकार नी एरले सङ्गीत सिर्जना गरे । परिणामस्वरूप जन्मियो- मार्च अफ द भोलेन्टियर्स।

‘उठौँ! हामी दास बन्न चाहँदैनौँ…’ भन्ने यसको सन्देशले करोडौँ चिनियाँ नागरिकको मनमा विद्रोहको आँधी ल्याइदियो । यो गीत छिट्टै चलचित्रको सिमानाभन्दा बाहिर निस्कियो र जापानी आक्रमणविरुद्धको राष्ट्रिय प्रतिरोधको प्रतीक बन्यो ।

युद्धका वर्षहरूमा सैनिकहरूले यसलाई गाए, विद्यार्थीहरूले परेडमा यसलाई गाए र देशभक्त नागरिकहरूले प्रत्येक भेलाहरुमा यसलाई आशाको स्वरका रूपमा अँगाले ।

सन् १९४९ मा नयाँ चीनको स्थापना हुनुअघि आयोजित चिनियाँ जनराजनीतिक सल्लाहकार सम्मेलनले यही गीतलाई अन्तरिम राष्ट्रिय गानका रूपमा स्वीकार गर्‍यो ।

यसरी एउटा चलचित्रका लागि सिर्जना गरिएको गीत अन्ततः सम्पूर्ण राष्ट्रको आवाज बन्यो ।

नयाँ चीनको चलचित्रको जग (१९३८–१९४९)
राजनीतिक परिवर्तनसँगै चलचित्र क्षेत्र पनि नयाँ दिशातर्फ अघि बढिरहेको थियो ।

सन् १९३८ मा यानान चलचित्र समूह स्थापना भयो । कम्युनिस्ट नेतृत्वमा स्थापित यो संस्था जनताको जीवन, संघर्ष र क्रान्तिकारी आन्दोलनलाई चलचित्रमा अभिव्यक्त गर्ने पहिलो संगठित प्रयास थियो ।

त्यतिबेला चलचित्र बनाउनु सजिलो थिएन । उपकरण सीमित थिए, स्रोतसाधनको अभाव थियो र युद्धको वातावरणले कामलाई अझ कठिन बनाएको थियो । तर कलाकार र प्राविधिकहरूको उत्साह कमजोर थिएन ।

सन् १९४५ मा पूर्वोत्तर चलचित्र कम्पनी स्थापना भयो । यसले चलचित्र उत्पादनलाई व्यवस्थित रूप दिन थाल्यो । समाचार, वृत्तचित्र, शैक्षिक चलचित्र, एनिमेसन र डबिङका क्षेत्रमा नयाँ प्रयोगहरू सुरु भए ।

‘प्रजातान्त्रिक पूर्वोत्तर’ जस्ता वृत्तचित्रहरूले समाजमा भइरहेका परिवर्तनलाई अभिलेख गरे । ‘प्लेग रोकथाम’ जस्ता शैक्षिक चलचित्रहरूले जनस्वास्थ्यसम्बन्धी चेतना फैलाए । एनिमेटेड चलचित्रहरूले बालदर्शकहरूका लागि नयाँ संसार निर्माण गरे ।

यी सबै प्रयासहरूले नयाँ चीनको चलचित्र उद्योगको आधार तयार गरे ।

नयाँ चीन र नयाँ गति (१९४९–१९६०)
१ अक्टोबर १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएपछि चलचित्र उद्योगले पनि नयाँ गति प्राप्त गर्‍यो ।

देश निर्माणको नयाँ अभियानसँगै चलचित्र क्षेत्रमा एकपछि अर्को ऐतिहासिक उपलब्धि हासिल भए ।

सन् १९४९ मा निर्माण भएको ‘द ब्रिज’ नयाँ चीनको पहिलो कथाचलचित्र बन्यो । यसले नयाँ युगका साधारण मानिसहरूको कथा प्रस्तुत गर्‍यो ।

त्यही वर्ष ‘नयाँ चीनको जन्म’ शीर्षकको वृत्तचित्र निर्माण गरियो, जसले नवस्थापित राष्ट्रको ऐतिहासिक क्षणलाई कैद गर्‍यो ।

सन् १९५० मा ‘धन्यवाद, सानो बिरालो’ नामक एनिमेटेड चलचित्र निर्माण भयो । यसले चीनको एनिमेसन उद्योगलाई नयाँ दिशा दियो ।

यस अवधिमा चलचित्र केवल मनोरञ्जनको माध्यम थिएन । यसले शिक्षा, संस्कृति, राष्ट्र निर्माण र सामाजिक परिवर्तनका सन्देशहरू जनतासम्म पुर्‍याउने महत्वपूर्ण भूमिका खेल्यो ।

देशभर नयाँ चलचित्र स्टुडियोहरू स्थापना भए । उत्पादन क्षमता बढ्यो । हजारौँ नयाँ कलाकार र प्राविधिकहरू चलचित्र क्षेत्रमा प्रवेश गरे ।
नयाँ चीन आफ्नो पहिचान निर्माण गरिरहेको थियो र चलचित्र त्यस यात्राको महत्त्वपूर्ण सहयात्री बनिरहेको थियो।

विश्व मञ्चमा चीन
चिनियाँ चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा मान्यता पाउन धेरै समय कुर्नुपरेन ।

सन् १९३५ मै ‘द सङ अफ द फिसरमेन’ ले अन्तर्राष्ट्रिय पुरस्कार जितेर चिनियाँ चलचित्रको सम्भावना विश्वलाई देखाइसकेको थियो । त्यसपछि विभिन्न चलचित्र महोत्सवहरूमा चिनियाँ कृतिहरूले ध्यान आकर्षित गर्न थाले ।

विशेष रुपमा सन् १९८० र १९९० को दशकपछि चिनियाँ चलचित्रले विश्व मञ्चमा अझ बलियो उपस्थिति जनाए ।

यस परिवर्तनको नेतृत्व पाँचौँ पुस्ताका निर्देशकहरूले गरे । उनीहरूले चिनियाँ समाज, इतिहास र संस्कृतिलाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरे । उनीहरूको शैली कलात्मक, मौलिक र अन्तर्राष्ट्रिय दर्शकका लागि आकर्षक थियो ।

यस यात्राको एक महत्त्वपूर्ण कोशेढुंगा सन् १९९९ मा प्रदर्शन भएको ‘द रोड होम’ थियो ।

निर्देशक झाङ यिमोउले निर्माण गरेको यो चलचित्र एउटा सरल प्रेमकथामा आधारित थियो । तर यसको भावनात्मक गहिराइ, ग्रामीण चीनको सुन्दर चित्रण र मानवीय संवेदनाले विश्वभरका दर्शकहरूको मन जित्यो ।

चलचित्रले बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा महत्त्वपूर्ण सम्मान प्राप्त गर्‍यो । यसले युवा अभिनेत्री झाङ जियीलाई पनि अन्तर्राष्ट्रिय पहिचान दिलायो ।

‘द रोड होम’ को सफलताले एउटा महत्त्वपूर्ण सन्देश दियो-स्थानीय कथा पनि विश्वव्यापी हुन सक्छ । यदि कथा मानव भावना, प्रेम, स्मृति र सम्बन्धको हो भने त्यसले भाषा र सीमाको बाधा पार गर्न सक्छ ।

आज चिनियाँ चलचित्र केवल चीनभित्र सीमित छैन । यसको प्रभाव एसियादेखि युरोप, अमेरिका र विश्वका अन्य भागसम्म फैलिएको छ । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा चिनियाँ निर्देशक, कलाकार र चलचित्रहरू नियमित रूपमा सम्मानित भइरहेका छन् ।

यसरी एक शताब्दीअघि विदेशी जिज्ञासाका रूपमा चीनमा प्रवेश गरेको चलचित्र आज विश्व चलचित्र उद्योगको एक महत्त्वपूर्ण शक्ति बनेको छ । अब विश्व चलचित्रको इतिहास लेख्न बस्दा चीनलाई छुटाएमा त्यो पूर्ण हुन सक्दैन ।

डिजिटल युगको ढोका खुल्दा (२००२–वर्तमान)
एक शताब्दीसम्म चलचित्र निर्माणको आधार फिल्म रिल थियो । क्यामराले दृश्यहरू फिल्ममा कैद गर्थ्यो, सम्पादन हातैले गरिन्थ्यो र प्रदर्शनका लागि फिल्मका भारी रिलहरू एक स्थानबाट अर्को स्थानमा पुर्‍याउनुपर्थ्यो । यो प्रक्रिया समयसाध्य, खर्चिलो र प्राविधिक रूपमा जटिल थियो ।

तर एक्काइसौँ शताब्दीको सुरुवातसँगै नयाँ परिवर्तन आयो, डिजिटल प्रविधि।

सन् २००२ मा सांघाई चलचित्र स्टुडियोले ‘हेलो, क्लासमेट’ निर्माण गर्‍यो । यसलाई चीनको पहिलो पूर्ण डिजिटल कथाचलचित्र मानिन्छ । चलचित्र निर्माणको यो नयाँ विधिले परम्परागत फिल्म रिलको ठाउँ डिजिटल क्यामरा र कम्प्युटर सम्पादनले लिन थालेको संकेत दियो ।

डिजिटल प्रविधिको आगमनसँगै चलचित्र निर्माण अझ छिटो, सुलभ र प्रभावकारी बन्न थाल्यो । दृश्य सम्पादन, ध्वनि संयोजन, विशेष प्रभाव र रंग व्यवस्थापनमा अकल्पनीय सुधार आयो ।

केही वर्षभित्रै हाई–डेफिनिसन (एचडी), फोरके र एइटके प्रविधि सामान्य बन्न थाले । आईम्याक्सजस्ता विशाल पर्दा, डल्बी एटमसजस्ता अत्याधुनिक ध्वनि प्रणाली, कम्प्युटरद्वारा सिर्जित दृश्य (सीजीआई) र भर्चुअल रियालिटी (भीआर) जस्ता नवीन प्रविधिले चलचित्रको अनुभवलाई नयाँ उचाइमा पुर्‍याए ।

आज चीन विश्वका सबैभन्दा ठूला चलचित्र बजारमध्ये एक हो । अत्याधुनिक प्रविधि, विशाल दर्शक वर्ग र सिर्जनात्मक क्षमताका कारण चिनियाँ चलचित्र उद्योग विश्व चलचित्रको अग्रपंक्तिमा उभिएको छ ।

चिनियाँ चलचित्रको इतिहास केवल कथा र कलाकारहरूको इतिहास मात्र होइन, यो निरन्तर विकसित हुँदै गएको प्रविधिको इतिहास पनि हो । संग्रहालयमा यो विकासक्रम अझै सचित्र राखिएको छ ।

सन् १९०५ मा ‘डिङ्जुनसान’ को मौन दृश्यबाट सुरु भएको यात्रा ध्वनि, रंग, फराकिलो पर्दा, त्रिआयामिक दृश्य र डिजिटल संसारसम्म आइपुगेको छ ।

मौन चलचित्रको युगमा कलाकारको अनुहार र हाउभाउ नै संवाद थिए । ध्वनि चलचित्रको आगमनले पात्रहरूलाई आवाज दियो । रंगीन चलचित्रले संसारलाई अझ जीवन्त बनायो । वाइडस्क्रिनले दृश्यको विशालता दर्शकसम्म पुर्‍यायो । थ्रीडी प्रविधिले पर्दाका दृश्यभित्रै दर्शकलाई यात्रा गरायो ।

डिजिटल युगले चलचित्र निर्माणको परिभाषा नै परिवर्तन गरिदियो । आज एउटा निर्देशकले कम्प्युटरमार्फत सम्पूर्ण काल्पनिक संसार सिर्जना गर्न सक्छ । महासागरको गहिराइदेखि अन्तरिक्षका ग्रहहरूसम्म, प्राचीन साम्राज्यदेखि भविष्यका सहरहरूसम्म सबै कुरा चलचित्रको पर्दामा सम्भव भएको छ ।

प्रविधिको प्रत्येक नयाँ उपलब्धिले चिनियाँ चलचित्रलाई थप सशक्त, आकर्षक र विश्वस्तरीय बनाउँदै लगेको छ ।

ती ५ व्यक्तित्व, जसले इतिहास निर्माण गरे
हरेक महान् यात्राको पछाडि केही असाधारण व्यक्तित्वहरूको योगदान हुन्छ । चिनियाँ चलचित्रको इतिहास पनि त्यस्ता दूरदर्शी व्यक्तिहरूको समर्पणले बनेको कथा हो ।

सबैभन्दा पहिले सम्झनुपर्ने नाम हो, रेन छिङताई । उनले ‘डिङ्जुनसान’ निर्माण गरेर चिनियाँ चलचित्रको पहिलो अध्याय लेखे । आज पनि उनलाई चिनियाँ चलचित्रका अग्रज पिताका रूपमा सम्मान गरिन्छ ।

झेङ झेङ्छिउले कथात्मक चलचित्रको आधार निर्माण गरे । उनले चलचित्रलाई समाजसँग जोड्ने प्रयास गरे र चिनियाँ कथाहरूलाई पर्दामा ल्याए ।
लाइ मान–वाईले हङकङ चलचित्र उद्योगको प्रारम्भिक जग बसाल्न महत्त्वपूर्ण भूमिका खेले । निर्देशक, अभिनेता र क्यामराम्यानका रूपमा उनको योगदान ऐतिहासिक मानिन्छ ।

सिया यानले चलचित्रलाई विचार, चेतना र सामाजिक उत्तरदायित्वसँग जोडिदिए । उनका पटकथाहरूले लाखौँ दर्शकलाई प्रभावित गरे ।

युआन मुजीले चलचित्रलाई कलात्मक उचाइमा पुर्‍याए । उनका कृतिहरू आज पनि चिनियाँ चलचित्र इतिहासका उत्कृष्ट नमुनाका रूपमा अध्ययन गरिन्छन् ।

वान ब्रदर्सले एनिमेसन क्षेत्रमा नयाँ अध्याय सुरु गरे । उनीहरूको सिर्जनात्मक साहसले चिनियाँ एनिमेटेड चलचित्रको भविष्य निर्धारण गर्‍यो ।

यी व्यक्तित्वहरू केवल चलचित्र निर्माता थिएनन् । उनीहरू विशाल र कलात्मक संसारको अदभूत स्वप्न देख्ने मानिसहरू थिए, जसले पर्दामा एउटा नयाँ संसार निर्माण गरे ।

आजको चीन र चलचित्र
आजको चिनियाँ चलचित्र उद्योग विगतको अनुभव, आधुनिक प्रविधि र नयाँ पुस्ताको सिर्जनशीलताको संगम हो ।

समकालीन चिनियाँ चलचित्रले समाज, संस्कृति, इतिहास र राष्ट्रको विकासलाई विभिन्न रूपले प्रस्तुत गरिरहेको छ ।

मूलधारका चलचित्रहरूले राष्ट्रिय विकास, ऐतिहासिक उपलब्धि र सामूहिक चेतनालाई चित्रण गर्छन् । यथार्थवादी चलचित्रहरूले साधारण मानिसका संघर्ष, सपना र सफलताका कथाहरू सुनाउँछन् । ग्रामीण जीवनदेखि महानगरसम्म, श्रमिकदेखि वैज्ञानिकसम्म, परिवारदेखि राष्ट्रसम्म सबै विषय चलचित्रका केन्द्रमा छन् ।

यससँगै परम्परागत चिनियाँ संस्कृति, लोककथा, दर्शन र ऐतिहासिक सम्पदालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने प्रयास पनि तीव्र रूपमा बढेको छ । नयाँ पुस्ताका निर्देशकहरूले परम्परा र आधुनिकताको संयोजनमार्फत विश्वव्यापी दर्शकलाई आकर्षित गरिरहेका छन् ।

आज चिनियाँ चलचित्र राष्ट्रिय पहिचानको अभिव्यक्ति त बनेको छ नै, साथसाथै विश्वसँग संवाद गर्ने सांस्कृतिक पुल पनि बनेको छ । विश्वका विशाल चलचित्र महोत्सव, अत्याधुनिक डिजिटल स्टुडियो र करोडौँ दर्शकसम्म पुगेको छ ।

मौन चलचित्रका अग्रजहरूदेखि डिजिटल युगका नवप्रवर्तकहरूसम्म, प्रत्येक पुस्ताले आफ्नो योगदानले यो इतिहास निर्माण गरेको छ । उनीहरूले प्रकाश र छायाको माध्यमबाट समाजलाई आफ्नो समयको कथा सुनाएका छन् ।

प्रकाश र छायाले लेखेको यो कथा अब अर्को शताब्दीतर्फ यात्रा गरिरहेको छ- नयाँ सपना, नयाँ प्रविधि र नयाँ सम्भावनासहित । विश्व विजेता बन्न अग्रसर भइरहेको चीनको अब रकेट यात्रादेखि एआई अनि चीनको व्यापारिक साम्राज्यको कथा कसरी भन्नेछ, त्यो अबको चासो हो । संग्रहालयबाट निस्किँदा मनमा यिनै कुरा खेल्छन् ।