चीन अहिले विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा बजार बनेको छ । पछिल्ला वर्षहरूमा वायु र सौर्य ऊर्जामा भएको विशाल विस्तारले विश्व ऊर्जा नक्सालाई नै परिवर्तन गरिरहेको छ । हरित ऊर्जा, स्मार्ट ग्रिड, कृत्रिम बुद्धिमत्ता, डिजिटल नियन्त्रण प्रणाली र ऊर्जा सुरक्षाका क्षेत्रमा चीनले गरेको लगानी तथा अनुसन्धानले विश्वको ध्यान तानेको छ । यही परिवेशलाई नजिकबाट बुझ्न हामी एकपटक चीनको प्रमुख ऊर्जा कम्पनी चाइना दाताङ कर्पोरेसनलाई हेरौँ, जसले विभिन्न ऊर्जा परियोजनाको विकास र सञ्चालनका साथै अनुसन्धान र अत्याधुनिक ऊर्जा प्रविधिको आविष्कार गरी दुनियाँलाई चकित पार्दै छ ।

साधारण विद्युत् उत्पादन कम्पनीभन्दा धेरै माथि उठेर दाताङ आज चीनको ऊर्जा रूपान्तरणको अग्रपंक्तिमा उभिएको संस्था बनेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनी चीनको केन्द्र सरकारद्वारा प्रत्यक्ष व्यवस्थापन गरिने विशाल सरकारी ऊर्जा समूह हो । विद्युत् उत्पादन, कोइला तथा कोइला–रसायन, वित्त, वातावरण संरक्षण, व्यापार–लजिस्टिक्स तथा नयाँ उद्योगहरूमा यसको संलग्नता छ ।
कम्पनीको कुल जडित विद्युत् क्षमता २० करोड किलोवाटभन्दा बढी पुगेको छ र चीनका ३१ प्रान्तका साथै विदेशमा समेत यसले आफ्नो व्यापार विस्तार गरेको छ।
विश्व ऊर्जा बजारमा दाताङको स्थान
दाताङ चीनका पाँच ठूला विद्युत् उत्पादक समूहमध्ये एक हो । कम्पनी लगातार विश्वका ठूला कम्पनीहरूको सूचीमा पर्दै आएको छ र २०२५ को फर्चुन ग्लोबल ५०० सूचीमा समेत समावेश भएको थियो ।

चीनको ऊर्जा सुरक्षालाई सुदृढ बनाउन दाताङले देशकै पहिलो गिगावाट स्तरको वायु ऊर्जा आधार क्षेत्र, विशाल तापविद्युत् परियोजनाहरू तथा वायु–सौर्य–तापीय–भण्डारण एकीकृत ऊर्जा केन्द्रहरू निर्माण गरेको छ । चीनको राजधानी बेइजिङलाई आवश्यक पर्ने विद्युत्को ठूलो हिस्सा आपूर्ति गर्नुका साथै उत्तर चीनका विशाल क्षेत्रहरूमा आपूर्ति गर्ने जिम्मेवारी पनि यही समूहले वहन गरिरहेको छ ।
अनुसन्धान र युवामा लगानी
दाताङको अर्को एउटा रोचक र महत्वपूर्ण पक्ष भनेको न्यू इनर्जी इन्डस्ट्रियल कन्ट्रोल एन्ड इन्टेलिजेन्ट सिस्टम्स आर एन्ड डी प्लेटफर्म हो ।
यो केन्द्र सन् २०२३ मा सञ्चालनमा आएको अनुसन्धान तथा नवप्रवर्तन केन्द्र हो । यहाँ वायु ऊर्जा र सौर्य ऊर्जा नियन्त्रण प्रणालीका लागि आवश्यक चिप डिजाइनदेखि बोर्ड विकास, प्रणाली एकीकरण र अन्तिम परीक्षणसम्मको सम्पूर्ण अनुसन्धान गरिन्छ ।

प्रयोगशालाका अधिकारीहरूका अनुसार अनुसन्धान टोलीका अधिकांश सदस्य ३५ वर्षभन्दा कम उमेरका युवा इन्जिनियरहरू छन् । करिब ९० प्रतिशत अनुसन्धानकर्तासँग स्नातकोत्तर वा सोभन्दा माथिको शैक्षिक योग्यता छ । प्रयोगशालाले मास्टर्स तथा विद्यावारिधि तहका अनुसन्धानकर्तालाई समेत प्रशिक्षण प्रदान गरिरहेको छ ।
यो दृश्यले चीनले ऊर्जा पूर्वाधार मात्र होइन, त्यसलाई सञ्चालन गर्ने मानव संसाधन र अनुसन्धान क्षमतामा पनि समान रूपमा लगानी गरिरहेको स्पष्ट देखिन्छ ।
कृत्रिम बुद्धिमत्ताको प्रयोग
दाताङले आफ्नो कामको अधिकांश हिस्सामा कृत्रिम बुद्धिमत्ताको प्रयोग गरिरहेको छ । एउटा उदाहरणका लागि स्मार्ट सुरक्षा हेल्मेटलाई लिन सकिन्छ ।
हेर्दा साधारण सुरक्षात्मक हेल्मेट जस्तो देखिए पनि यसमा एआर प्रविधि जडान गरिएको छ । यसले प्रत्यक्ष भिडियो प्रसारण, आवाजमार्फत सञ्चार, कर्मचारीको लोकेसन ट्र्याकिङ, कार्य व्यवस्थापन र प्रगति अनुगमन गर्न सकिने सुविधा समावेश गरिएका छन् ।

कार्यक्षेत्रमा कर्मचारीले लगाएको हेल्मेटबाट प्राप्त दृश्य नियन्त्रण कक्षमा प्रत्यक्ष पुग्छ । त्यसको अनुगमनबाट त्यहाँ रहेका अधिकारीहरूले तुरुन्तै निर्देशन दिन सक्छन् । प्रणालीले भिडियो निगरानी, अग्नि सुरक्षा प्रणाली, जलविज्ञानसम्बन्धी सूचनासमेत एकीकृत गरी आकस्मिक अवस्थाको छिटो व्यवस्थापन गर्न सहयोग पुर्याउँछन् ।
ऊर्जा उद्योगजस्तो जोखिमपूर्ण क्षेत्रमा यस्तो प्रविधिले सुरक्षाको स्तरलाई नयाँ उचाइमा पुर्याएको छ । दुर्घटना न्यूनीकरण, आपतकालीन उद्धार तथा कार्यसम्पादन अनुगमनमा यसले ठूलो भूमिका खेल्न सक्ने देखिन्छ ।
३३६ मेगावाट क्षमताको विशाल ग्यास टर्बाइन
दाताङले बेइजिङमै उच्च क्षमताको ग्यास टर्बाइन तथा थर्मल प्लान्ट पनि सञ्चालन गरी विद्युत आपूर्ति गरिरहेको छ । प्राविधिक विवरणअनुसार यो टर्बाइनको अधिकतम उत्पादन क्षमता करिब ३३६.५ मेगावाट छ । प्रतिमिनेट ३,००० पटक घुम्ने यो टर्बाइन प्राकृतिक ग्यासबाट सञ्चालन हुन्छ । यसमा कम नाइट्रोजन अक्साइड उत्सर्जन गर्ने अत्याधुनिक ड्राइ–लो–एनओएक्स बर्नर प्रणाली जडान गरिएको छ ।

ऊर्जा दक्षता झन्डै ५९ प्रतिशतसम्म पुगेको यो उपकरण आधुनिक संयुक्त चक्र (कम्बाइन्ड साइकल) विद्युत् उत्पादन प्रणालीको उत्कृष्ट उदाहरण मानिन्छ । उच्च दक्षता र कम उत्सर्जनका कारण यस्ता ग्यास टर्बाइनहरू चीनको ऊर्जा संक्रमण रणनीतिमा महत्वपूर्ण साधन बनेका छन् ।
हरित ऊर्जामा चीनको तीव्र गति
चीनले तीव्र गतिमा हरित ऊर्जातर्फ अग्रसर भइरहेको छ । चीनका प्रमुख ऊर्जा कम्पनीहरूमध्ये दाताङ पनि यस परिवर्तनको अग्रपंक्तिमा छ ।
दाताङका परियोजनाहरूले ऊर्जा उत्पादन मात्र होइन, ऊर्जा भण्डारण, डिजिटल नियन्त्रण, स्मार्ट ग्रिड तथा कार्बन उत्सर्जन न्यूनीकरणलाई समान महत्व दिएका छन् । यही कारण कम्पनीले कार्बन पिक र कार्बन न्यूट्रालिटी सम्बन्धी चीनका राष्ट्रिय लक्ष्यहरू पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

नेपालका लागि सिकाइ
नेपालले जलविद्युत्मा ठूलो सम्भावना बोकेको भए पनि ऊर्जा क्षेत्रको भविष्य केवल विद्युत् उत्पादनमा सीमित रहने देखिँदैन । स्मार्ट ग्रिड, ऊर्जा भण्डारण, कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी प्रणाली र अनुसन्धान–आधारित ऊर्जा व्यवस्थापन भविष्यका प्रमुख आवश्यकता बन्नेछन् । यसका लागि दाताङ नेपालका लागि एक अनुकरणीय मोडल बन्न सक्छ ।

दाताङका प्रयोगशाला, स्मार्ट हेल्मेट र आधुनिक ऊर्जा नियन्त्रण प्रणालीहरूले एउटा स्पष्ट सन्देश दिएका छन्- ऊर्जा क्षेत्रमा सफल हुन केवल विद्युत् उत्पादन पर्याप्त हुँदैन । अनुसन्धान, प्रविधि, नवप्रवर्तन र दक्ष मानव संसाधनको निर्माण पनि उत्तिकै आवश्यक हुन्छ । यी सबै पक्षमा सँगसँगै लगानी गर्नुपर्ने हुन्छ ।
समग्रमा दाताङ अनुसन्धान, डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, सुरक्षा प्रणाली र हरित ऊर्जाको एकीकृत यात्राको कथा हो । ऊर्जा संक्रमणको यो यात्रामा चीनले देखाइरहेका भविष्यका झलकहरू हेर्दा स्पष्ट हुन्छ- ऊर्जा उत्पादनको अर्को चरण केवल मेगावाटको प्रतिस्पर्धा होइन, प्रविधि, बुद्धिमत्ता र दिगोपनको प्रतिस्पर्धा हुनेछ । दाताङ त्यस प्रतिस्पर्धाको अग्रभागमा उभिएको छ ।