जेनजी अभियन्ता भावना राउत ले सहकारी काण्डको छानबिनको मागलाई कुनै व्यक्ति वा नेताविरुद्धको विरोधका रूपमा नबुझ्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले प्रश्न उठाउनु लोकतान्त्रिक अधिकार भएको स्पष्ट पारेकी हुन्।

राउतले रवि लामिछाने सम्बन्धी सहकारी प्रकरण छानबिन हुनुपर्छ भन्नु उनलाई समर्थन नगर्नु नभएको बताइन्। “जेल तोडिएको विषयमा छानबिन गर भन्नु पनि कसैलाई अपराधीकरण गर्नु होइन,” उनले लेखेकी छन्।

त्यस्तै, उनले सुदन किरण प्रति सचेत रहन आग्रह गर्नु उसको विपक्षमा उभिनु नभएको उल्लेख गर्दै आलोचना र प्रश्नलाई व्यक्तिगत आक्रमणका रूपमा नलिन आग्रह गरिन्। उनले बालेन शाह माथि प्रश्न उठाउनु पनि समर्थन नगर्नु नभएको स्पष्ट पारिन्।

राउतका अनुसार हरेक प्रश्नलाई “विरोध” र हरेक आलोचनालाई “षड्यन्त्र” ठान्ने प्रवृत्ति लोकतन्त्रका लागि हानिकारक छ। “अन्धो समर्थनले नेता होइन, अधिनायक जन्माउँछ,” उनले चेतावनी दिइन्।

उनले अबका नेताहरूलाई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्नुपर्नेमा जोड दिँदै कार्यकर्ताहरूलाई संयमित व्यवहार अपनाउन आग्रह गरिन्। सहिदहरूको बलिदान अर्को सामन्ती शासक वा अधिनायकवाद ल्याउनका लागि नभएको उनको भनाइ छ।

साथै, उनले सडक आन्दोलनलाई पनि रचनात्मक बनाउनुपर्ने बताइन्। टायर बाल्ने र हिंसात्मक विरोधको संस्कार त्यागेर कानुनी बाटो रोज्नुपर्नेमा उनले जोड दिइन्। “प्रश्न मरे लोकतन्त्र मर्छ, त्यसैले प्रश्न जीवित राखौं तर प्रश्न गर्ने तरिका सुधारौं,” उनले भनिन्।

उनले अदालतलाई निष्पक्ष र जिम्मेवार बनाउन नागरिकले दबाब सिर्जना गर्नुपर्ने धारणा पनि राखेकी छन्।