नेपाल टेलिकमको मुख्य प्रायोजनमा कृत्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम जेभियर इन्टरनेशनल कलेज बौद्धमा सम्पन्न भएको छ। आइतबार भएको उक्त कार्यक्रमको व्यवस्थापन बिधि मिडिया प्रा.लि.ले जेभियर इन्टरनेशनल कलेजसँगको सहकार्यमा गरेको हो।

‘कार्यगत एआई: नेपालमा गाडी भाडादर पूर्वानुमान’ नामक उक्त कार्यक्रममा आईटी, विज्ञान, सामाजिक कार्य र व्यवस्थापन संकायका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रह्यो। प्रशिक्षणमा विद्यार्थीहरूले एआई र मेसिन लर्निङका अवधारणाहरू तथा तिनको वास्तविक जीवनमा हुने प्रयोगहरू र यस क्षेत्रमा तीव्र गतिमा विकास भइरहेका अवसरहरूको जानकारी पाउनुका साथै एआई र मेसिन लर्निङका विभिन्न मोड्युलको प्रयोग गरी गाडी भाडादर पूर्वानुमान गर्न सिकेका विद्यार्थीहरूले हर्षित हुँदै आउँदा दिनहरूमा पनि यस्तै कार्यक्रम निरन्तर भएमा आफूहरू लाभान्वित हुने बताए।

कार्यक्रमको बिशेष समयमा बोल्दै जेभियर इन्टरनेशनल कलेज बौद्ध स्टेसनका संयोजक राजेश नेपालले विद्यार्थीहरूले अत्याधुनिक प्रविधि विकास गर्न एआई र मेसिन लर्निङलाई एकीकृत गर्न आवश्यक छ र यो समकालीन युगको आवश्यकता भएको जिकिर गर्नुभयो।

कार्यक्रमका प्रशिक्षक अर्जुन गौतम हुनुहुन्थ्यो। उहाँ गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डाटाबेस इन्जिनियरको रूपमा कार्यरत हुनुहुन्छ। साथै, उहाँले ओपन टेक कम्युनिटी सञ्जालमार्फत सफ्टवेयर स्वतन्त्रता र सूचनाको पहुँचसम्बन्धी जनचेतनामूलक कार्यसम्बन्धी प्रशिक्षण दिँदै आउनुभएको छ।

कार्यक्रमका तस्बिर तथा भिडियोहरु: