प्रधानमन्त्री सुशीला कार्कीले आज काठमाडौँ क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली केन्द्रमा मतदान गर्नुभएको छ ।

जेनजी आन्दोलनपछिको उत्पन्न असहज परिस्थितिमा मुलुकको नेतृत्व लिनुभएकी प्रधानमन्त्री कार्कीले मतदानमा आफै सहभागी भएर अरुलाई पनि हौस्याएकी हुन् ।

मतदानपछि उहाँले निर्वाचन गराउनु आफ्नो कर्तव्य रहेको र त्यसमा सफल भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचन गराउनु नै यो सरकारको प्रमुख कर्तव्य थियो। देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन भयो। खुसी छु।’

उहाँले सुरक्षा र व्यवस्थापनमा खटिएका सबै कर्मचारी, सुरक्षाकर्मी तथा सम्बद्ध पक्षहरुलाई धन्यवाद पनि दिनुभएको छ । शान्तिपूर्ण निर्वाचनका निम्ति जेनजी, जनस्तर र दलहरुबाट देखाइएको संयम र समझदारीप्रति पनि उहाँले आभार व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको निर्वाचन आज देशभर हुँदै छ ।