राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।

बुधबार साँझ प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर चुनावको तयारीबारे जानकारी गराउनुभएको हो ।

त्यसै क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीलाई समयमै निर्वाचन सम्पन्न हुने वातावरण बनाउन सकेकामा बधाइ दिनुभयो । स्रोतअनुसार निकै अन्योलपूर्ण र असहज अवस्थामा देशलाई नेतृत्व दिएर लोकतान्त्रिक निकासको यस मोडमा देशलाई ल्याइपुर्‍याएको भन्दै राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको प्रशंसा गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले पनि आफूलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा धन्यवाद दिँदै अभिभावकीय सहयोगका लागि आधार व्यक्त गर्नुभयो ।

बिहीबार प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

त्यस्तै, बुधबार दिउँसो बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पनि चुनावी तयारीबारे छलफल भएको थियो । बैठकमा निर्वाचन तयारी, शान्ति सुरक्षा लगायतका विषयमा छलफल भएको थियो ।

सरोकारवाला निकायबाट निर्वाचन तयारीबारे जानकारी लिएपछि प्रधानमन्त्री कार्की शीतलनिवास पुग्नुभएको हो । निर्वाचनको तयारीसँगै समसामयिक राजनीतिक अवस्थाबारे पनि राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।