लामो समयसम्म व्यवस्थापकीय बेथिति, आन्तरिक कुशासन र आर्थिक दायित्वको भारी बोकेर थला परेको नेपाल वायु सेवा निगम आज पुनर्जीवित भई अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै यात्रुलाई सेवा दिने अग्रणी संस्थाका रूपमा स्थापित भएको छ। यो ऐतिहासिक उपलब्धि प्रधानमन्त्री सुशीला कार्कीको निरन्तर चासो, प्रत्यक्ष निर्देशन र सशक्त निगरानीको परिणाम हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०२६ को जनवरी महिनामा निगमले ३०० उडान–अवतरणमार्फत ५४ हजार ३९८ यात्रुलाई सेवा दिएको छ। नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका ३० वटा वायु सेवा कम्पनीमध्ये निगमको यो संख्या सबैभन्दा धेरै हो।

जनवरीमा सबैभन्दा बढी ३७२ उडान गरेको एयर अरेबियाले ४७ हजार ५१९ यात्रुलाई सेवा दिएको थियो। त्यस्तै कतार एयरवेज ले १५८ उडानबाट ४२ हजार ११ यात्रु, हिमालय एयरलाइन्सले २७० उडानबाट ३५ हजार ५४ र इन्डिगोले २३२ उडानमार्फत ३४ हजार ४७८ यात्रुलाई सेवा दिएका छन्। यी तथ्याङ्कले निगमको प्रभावकारी व्यवस्थापन र व्यावसायिक पुनरुत्थान स्पष्ट देखाउँछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनवरीमा अन्तर्राष्ट्रियतर्फ २ हजार ९४९ उडान–अवतरणमार्फत ४ लाख ३१ हजार ६३५ यात्रुले यात्रा गरेका छन् भने आन्तरिकतर्फ ६ हजार ८०९ उडान–अवतरणमार्फत ३ लाख १८ हजार ५४८ यात्रुले देशका विभिन्न गन्तव्यमा आवतजावत गरेका छन्।

हाल नेपालको ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता छ । १४ देशका वायु सेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन्। भारत र चीनबाट चार–चार, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्सबाट तीन तथा मलेसिया, भुटान र कुवेतबाट दुई–दुई वायु सेवा कम्पनीले नेपालमा उडान गर्दै आएका छन्। नेपालबाट निगम, हिमालय र बुद्ध एयरले अन्तर्राष्ट्रिय सेवा सञ्चालन गर्दै आएका छन्।

संकटबाट शिखरतर्फ: प्रधानमन्त्री कार्कीको निर्णायक हस्तक्षेप

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार बन्दासम्म निगम गम्भीर संकटमा थियो। आफ्नै जहाजका इन्जिनहरू मर्मतका नाममा लामो समयदेखि इजरायलमा थन्क्याइएका थिए भने अर्कोतर्फ भाडाका इन्जिन ल्याएर मिटरब्याज शैलीमा निगममाथि ठूलो आर्थिक दायित्व थुपारिएको थियो।

आन्तरिक कुशासनका कारण जहाज खाली उडाउने, आफ्नै टिकट नबेचेर निजी क्षेत्रलाई फाइदा पुर्‍याउने र निगमदेखि मन्त्रालयका कर्मचारी तथा नेताहरु निःशुल्क टिकटमा छिनाझम्टी गर्ने प्रवृत्ति मौलाएको थियो।

अर्कोतिर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ठूलो रकम ऋण लिएर ब्याज तिर्नै चाडिएको थियो । ब्याज रकम बढ्दै ५७ अर्बसम्म दायित्व पुर्‍याउँदा पनि कसैले चिन्ता लिएका थिएनन् । जसरी हुन्छ, लुटेर खानेमा मात्रै सञ्चालक समितिदेखि व्यवस्थापन र मन्त्रालयका अधिकारीहरुको ध्याउन्न थियो ।

यस्तो विकराल अवस्थामा प्रधानमन्त्री सुशीला कार्कीले निगमको अवस्थालाई गम्भीरतापूर्वक लिएर प्रत्यक्ष निर्देशन र निगरानी सुरु गर्नुभयो। उहाँले दिनदिनैजसो बैठक बोलाउँदै निकास खोज्नका लागि विभिन्न पक्षसँग पहल गर्नुभयो। उहाँको सक्रियताकै कारण निगमलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने ठोस पहल अघि बढ्यो।

अमृतमान श्रेष्ठको कुशल नेतृत्व : चारवटै जहाज पुनः सञ्चालनमा

निगमलाई चलायमान बनाउन प्रधानमन्त्री कार्कीले अमृतमान श्रेष्ठलाई कार्यकारी निर्देशक नियुक्त गर्नुभयो। त्यसअघि निमित्त महाप्रबन्धकका रूपमा जिम्मेवारी पाएका जनक कालाखेतीले इजरायलबाट जहाज ल्याउन नसक्ने भन्दै हात उठाएपछि प्रधानमन्त्रीले सञ्चालक समितिका सदस्य श्रेष्ठलाई प्रत्यक्ष जिम्मेवारी दिनुभएको थियो।

श्रेष्ठले भाडाका इन्जिन फिर्ता गर्नुका साथै आफ्नै इन्जिन स्वदेश भित्र्याएर चारवटै जहाज सञ्चालनमा ल्याउन सफल हुनुभयो। उहाँले १२ महिनाको इन्जिन भाडा र जडान खर्चसमेत मिनाहा गराएर क्षतिपूर्ति भराउन सफल हुनुभएको छ। यसबाट निगमको करिब १० लाख अमेरिकी डलर बराबरको दायित्व घटेको छ।

पूर्ववर्ती कार्यकारी अध्यक्ष युवराज अधिकारीको कमिसनको खेलले निगम धराशयी बन्ने अवस्था सिर्जना भएको थियो। श्रेष्ठको आगमनले संस्थामा अनुशासन, पारदर्शिता र उत्तरदायित्व स्थापित गरेको छ। निगमलाई चुस्न पल्केका समूहहरू अहिले तिल्मिलाएका छन् भने संस्थाको साख पुनः स्थापित हुँदै गएको छ।

व्यवसाय वृद्धितर्फ उन्मुख राष्ट्रिय ध्वजावाहक

दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज नियमित सञ्चालन, व्यवस्थापकीय सुधार र आर्थिक दायित्व न्यूनीकरणसँगै निगमको व्यवसाय वृद्धिले आशाको सञ्चार गरेको छ । जनवरी महिनाको यात्रु संख्या नै यसको स्पष्ट प्रमाण हो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८२ पुस मसान्तसम्मको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी जम्मा ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । यस्तै श्रेष्ठले सञ्चय कोष व्यवस्थानसँग प्रत्यक्ष वार्ता गरी ऋण समायोजनका विषयमा पनि पहल गर्नुभएको छ । यसअघि युवराज अधिकारीका पालामा यसतिर कुनै ध्यान दिइएको थिएन ।

एक समय संकटग्रस्त संस्था आज प्रतिस्पर्धी अन्तर्राष्ट्रिय बजारमा अग्रणी बन्नु प्रधानमन्त्री कार्कीको दूरदृष्टि र अमृतमान श्रेष्ठको कार्यकुशल नेतृत्वको परिणामका रूपमा हेरिएको छ ।

राष्ट्रिय ध्वजावाहकको रूपमा नेपाल वायु सेवा निगमको पुनरुत्थानले देशको हवाई क्षेत्रमा आत्मविश्वास बढाएको छ । देशको आर्थिक र पर्यटन विकासमा समेत सकारात्मक आशा प्रवाह गरेको छ।

प्रधानमन्त्री कार्कीको अडान र दृढ इच्छाशक्तिले देखाएको यो उदाहरण सार्वजनिक संस्थान सुधारको सफलताको झिल्को बनेको छ।