निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा लुम्बिनी पुग्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले आज भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीको पनि दर्शन गर्नुभएको छ ।
लुम्बिनीमा उहाँले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज बिहान उहाँले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिनुभएको थियो । त्यसलगत्तै उहाँ लुम्बिनी पुगेर गौतम बुद्धको जन्मस्थलको दर्शन गर्नुभएको हो ।
त्यस क्रममा उहाँले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया पनि गर्नुभएको थियो ।
प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिनुभएको थियो ।
लुम्बिनी दर्शनपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘आज लुम्बिनीमा भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल दर्शनको सौभाग्य प्राप्त भयो। शान्तिका अग्रदूतको सान्निध्यले मन अझ दृढ बनाएको छ- हाम्रो देशले स्थायी शान्ति, न्यायपूर्ण व्यवस्था र जिम्मेवार नेतृत्व पाउनैपर्छ। जनताको मत नै देशको भविष्य हो। निर्वाचन सफल पारौँ, शान्तिपूर्ण बनाऔँ।’