हालको नेपाली राजनीतिक बहसमा नयाँ भन्ने शब्द अत्यधिक प्रयोगमा आएको छ । विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई निरन्तर नयाँ राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको छ । तर प्रश्न उठ्छ- राजनीतिमा नयाँ भन्नुको मापदण्ड के हो ? केवल दाबी पर्याप्त हुन्छ कि त्यसलाई पुष्टि गर्ने ठोस आधार आवश्यक पर्छ ?
सबैभन्दा पहिले पार्टी दर्ताको आधारमा हेर्ने हो भने रास्वपा अनिवार्य रूपमा सबैभन्दा नयाँ पार्टी होइन । रास्वपाभन्दा पछिल्ला मितिमा दर्ता भएका राजनीतिक दलहरू पनि छन् । त्यसैले नयाँ भन्नुको अर्थ केवल कानुनी दर्ता मिति होइन भन्ने कुरा स्पष्ट हुन्छ ।
नेतृत्वको दृष्टिकोणबाट हेर्दा पनि नयाँपनको दाबी फितलो देखिन्छ ।
रास्वपाका सभापति रवि लामिछानेभन्दा पुराना पार्टीभित्रै उदाएका केही नेताहरू जस्तै नेपाली कांग्रेसका गगन थापा राजनीतिक नेतृत्वको अभ्यास, नीतिगत बहस र संसदमा सक्रियताको हिसाबले नयाँ पुस्ताका प्रतिनिधि मानिन्छन् ।
यस अर्थमा, नयाँ नेतृत्व भन्नुको अर्थ केवल नयाँ पार्टीको सभापति हुनु मात्र होइन ।
अर्को बहस सत्तामा नगएको दल नै नयाँ हो भन्ने तर्कसँग जोडिन्छ । तर यो मापदण्ड पनि रास्वपामा लागू हुँदैन । रास्वपा सरकारमा सहभागी भइसकेको छ, रवि लामिछाने स्वयं मन्त्री भइसकेका छन् । भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका बालेन्द्र शाहको उपस्थितिलाई नै नयाँ बान्ने हो भने बेग्लै कुरा । तर बालेन्द्र पनि काठमाडौँ महानगरपालिकाको प्रमुखमा ३ वर्षभन्दा बढी परीक्षित भइसकेका छन् । उनको कार्यशैली र कार्यक्षमता जनताले जान्ने मौका पाइसकेका छन् ।
पूरा कार्यकाल सत्ता चलाउन नपाएको भन्ने तर्क अघि सारिए पनि यही तर्क माओवादी आन्दोलनबाट उदाएको पार्टीमा पनि लागू हुन्थ्यो । तर माओवादीले आफूलाई नयाँ प्रमाणित गर्ने आधार आफ्ना स्पष्ट र संरचनागत एजेन्डामार्फत प्रस्तुत गर्यो ।
राजतन्त्रको अन्त्य, गणतन्त्र, संघीयता, समावेशिता, समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षताजस्ता एजेन्डाले राज्यको स्वरूप नै परिवर्तन गरिदियो ।
यस सन्दर्भमा एउटा तथ्य स्पष्ट हुन्छ- सत्तामा सहभागी भइसकेपछि रास्वपा पनि अब स्वतः नयाँ पार्टीको श्रेणीमा पर्दैन ।
त्यसैले अब बहसको केन्द्र नयाँ भन्ने शब्दको राजनीतिक अर्थमा केन्द्रित हुनुपर्छ ।
यदि रास्वपा आफूलाई नयाँ शक्ति ठान्दछ भने उसले पुराना भनिएका दलहरूभन्दा फरक विचार, सिद्धान्त, नीति र कार्यक्रम प्रस्तुत गर्नुपर्छ । ती फरकपन घोषणापत्रमार्फत सार्वजनिक हुनुपर्छ, बहसको विषय बन्नुपर्छ र व्यवहारमा परीक्षण हुनुपर्छ ।
घोषणापत्रबिना केवल नाराका आधारमा हामी नयाँ हौँ भन्नु राजनीतिक रूपमा अपर्याप्त र गैरजिम्मेवार अभ्यास हो ।
यसै क्रममा, षड्यन्त्र सिद्धान्तका आधारमा रास्वपालाई देश जलाउने पार्टी भनेर चित्रण गर्नु पनि उचित हुँदैन ।
भदौ २३ पछिको घटनाक्रमले भदौ २४ को आक्रोशपूर्ण अवस्था जन्मायो । उक्त दिन भएका प्रदर्शनमा रास्वपा मात्र होइन, एमाले, कांग्रेस, माओवादी लगायत विभिन्न दलका कार्यकर्ता र दलनिरपेक्ष नागरिकहरूको सहभागिता रहेको तथ्य सार्वजनिक भइसकेको छ ।
यदि केही सरकारी संरचनामा आगजनी भएको आधारमै कुनै एक दललाई देश जलाउनेको आरोप लगाउने हो भने त्यसको नैतिक जिम्मेवारी प्रमुख राजनीतिक दलहरूले पनि साझा रूपमा लिनुपर्छ ।
तर आलोचनाबाट जोगिन हामी नयाँ हौँ भन्ने आवरण ओढ्नु नै अब राजनीतिमा स्थापित हुन पर्याप्त छैन ।
पुरानालाई प्रश्न गर्दैमा नयाँ भइँदैन ।
नयाँ नीति, नयाँ कार्यक्रम र राज्य सञ्चालनप्रतिको स्पष्ट दृष्टिकोणसहित प्रस्तुत भए मात्र कुनै दललाई नयाँ मान्न सकिन्छ ।
जनता पुराना दलप्रतिको निराशाबाट थाकिसकेका छन् । तर अब प्रश्नको घेरामा रास्वपा स्वयं छ ।
उसले स्पष्ट रूपमा भन्नुपर्छ- उसको विचार के हो, सिद्धान्त के हो, नीति के हुन् र नेपाल राज्यलाई कस्तो दिशामा लैजान चाहन्छ ?
अन्ततः निर्णायक प्रश्न यही हो- रास्वपाको नयाँ के हो ?
यो प्रश्नको उत्तर स्पष्ट, लिखित र सार्वजनिक रूपमा प्रस्तुत गर्न सक्ने क्षणदेखि मात्रै रास्वपाको नयाँपन दाबी राजनीतिक रूपमा विश्वासिलो बन्नेछ ।