नेपाली सेनाले आज आफ्नो स्थापनाको २६३ औँ वर्षगाँठ मनाएको छ ।
स्थापना दिवसका अवसरमा सेनाले काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवस-२०८२ सम्बन्धी विशेष कार्यक्रम आयोजना गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रममा महाशिवरात्रि बढाइँ तथा मार्च पास्ट, नेपाली सेनाका हातहतियार तथा उपकरणहरुको प्रदर्शन, विविध सैनिक कला तथा सांगीतिक झाँकीहरु प्रदर्शन गरिएको थियो। त्यस्तै मित्रराष्ट्र भारत, बेलायत र अमेरिकाका सेनाका ब्यान्डहरुका प्रस्तुति पनि कार्यक्रममा राखिएका थिए।
नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका अवसरमा आफ्नो स्थापना दिवस मनाउँदै आएको छ।

राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट नेपाल एकीकरणको सिलसिलामा विसं १८१९ मा नेपाली सेनाको गठन भएको थियो।
त्यस वर्ष नेपाली सेनाका श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख कम्पनी खडा गरिएका थिए।
नेपाल राज्यका पुराना संस्थाहरुमध्ये नेपाली सेना पनि एक हो।




तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय