नेपालको पछिल्लो राजनीतिक परिदृश्यमा ‘जेनजी आन्दोलन’ पछि मुलुकको सम्भावित नेतृत्वको प्रश्न फेरि गम्भीर रूपमा उठेको छ । युवा पुस्ताले व्यवस्था, पार्टी संरचना र नेतृत्व शैलीप्रति असन्तुष्टि प्रकट गरिरहँदा कसले त्यो सन्देशलाई गम्भीरतापूर्वक लियो भन्ने प्रश्न महत्त्वपूर्ण बन्छ । यस सन्दर्भमा गगन थापाका विषयमा पनि बहस हुनु स्वाभाविक हो ।
सबैभन्दा पहिले, उनले जेनजी आन्दोलनको सारलाई नकारेनन् । बरु सार्वजनिक रूपमा माफी माग्दै आन्दोलनले उठाएका प्रश्नहरू वैध भएको स्वीकार गरे ।
नेपाली राजनीतिमा गल्ती स्वीकार गर्ने संस्कृतिको सर्वथा खडेरी छ । प्रायः नेताहरू आलोचना स्वीकार गर्न सक्दैनन्, प्रतिरक्षामा उत्रिइहाल्छन् । तर गगन थापाले आन्दोलनलाई विरोधीको आक्रमणको रूपमा लिएनन् । बरु आत्मसमीक्षाको अवसरका रूपमा व्याख्या गरे । यही बिन्दुबाट उनलाई परम्परागत राजनीतिक दल र तिनका नेताहरुबाट फरक रुपमा चिनाउँछ ।
दोस्रो, उनले निरन्तर संवादलाई प्राथमिकता दिए । आन्दोलन चर्किँदा धेरै नेता चुप लाग्ने वा औपचारिक वक्तव्यमा सीमित हुने गर्छन् । तर गगन थापाले प्रत्यक्ष भेटघाट, सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमार्फत संवाद जारी राखे । असहमति सुन्ने र त्यसलाई सम्बोधन गर्ने प्रयास राजनीतिक परिपक्वताको संकेत हो । संवादविहीन राजनीति अन्ततः अविश्वास जन्माउने प्रक्रिया हो भन्ने उनले बुझेको देखिन्छ ।
तेस्रो, उनले आफ्नै नेतृत्वलाई खबरदारी गर्ने साहस देखाए । पार्टीभित्रै विद्रोहसमेत गर्न अघि सरे । आफ्नो वैचारिक धारमा सिंगो पार्टी पंक्तिलाई उभ्याए ।
यो नयाँ कुरा होइन कि उनले विगतदेखि नै पार्टीभित्र सुधारको आवाज उठाउँदै आएका हुन् । तर जेनजी आन्दोलनपछि त्यो स्वर अझ स्पष्ट र खरो रुपमा व्यक्त भयो । पार्टी अनुशासनको नाममा मौन बस्नुभन्दा संगठनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्छ भन्ने उनको अडानले युवा पुस्तामा थप विश्वास पैदा गरेको छ । शेरबहादुर देउवा र आरजु देउवाका कारण ध्वस्त भएको छविमा गगनको आगमनले केही राहत पुगेको छ ।
चौथो, उनले पार्टी रिफर्मको प्रक्रिया प्रारम्भ गरे । संरचनागत परिवर्तन, आन्तरिक लोकतन्त्र र पारदर्शितामा जोड दिने कुरा उनले केवल भाषण र वक्तव्यबाजीमा मात्र सीमित राखेनन् । व्यावहारिक पहलहरू नै गरेर उनी अघि बढे । यद्यपि सुधार प्रक्रिया लामो र जटिल हुन्छ । तर सुरुवात नै सबैभन्दा कठिन चरण हो । उनले त्यो जोखिम लिएरै छाडे ।
पाँचौं, निर्वाचनको पक्षमा उनको निर्णय र अडान पनि उल्लेखनीय छ । प्रतिकूल परिस्थिति, समयको अभाव वा आन्तरिक असहमतिको अवस्था देखाएर उनी पन्छिन पनि सक्थे । तर उनले प्रतिस्पर्धाबाट भाग्ने विकल्प रोजेनन् । राजनीति अन्ततः जनमतको परीक्षण हो भन्ने मान्यतालाई व्यवहारमा उतारे । हार–जितभन्दा पनि प्रक्रियामा सहभागिता महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश उनले दिए ।
छैटौं, उनले ‘कम्फर्ट जोन’ छोड्ने साहस देखाए । काठमाडौं केन्द्रित राजनीतिबाट बाहिर निस्केर मधेस झर्नु प्रतीकात्मक मात्र होइन, राजनीतिक रूपमा जोखिमपूर्ण कदम पनि थियो । आलोचना, विरोध वा असहज परिस्थितिसँग जुध्न तयार हुनु एउटा आँटिलो नेतृत्वको गुण हो । सम्भावित जोखिमका बाबजुद अगाडि बढ्नुले उनी निर्णयबाट डराउँदैनन् भन्ने संकेत दिन्छ ।
निस्सन्देह, कुनै पनि नेता आलोचनाभन्दा माथि हुँदैन । गगन थापाका पनि सीमाहरू छन् । उनको विगतको यात्रा पनि विवादरहित छैन । तर भदौ २३ र त्यसअघिका संस्मरणहरू एक छिन पन्छाएर वर्तमान सन्दर्भमा मूल्यांकन गर्ने हो भने परिवर्तनको मागलाई स्वीकार गर्ने, संवादलाई प्राथमिकता दिने, आफ्नै संगठनलाई सुधारका लागि जोखिम लिएर अघि सर्ने नेता अहिले दुर्लभ छन् ।
त्यसैले आजको परिस्थितिमा विकल्पको बहस हुँदा गगन थापाले परम्परागत पार्टीभित्रैबाट आफ्नो नाम स्वाभाविक रूपमा एक बलियो दाबेदारका रुपमा अघि सारेका छन् । उनले आम नागरिक र मतदाताको मन जित्न कति सकेका छन् भन्ने त अब निर्वाचनको नतिजाले नै देखाउनेछ । साथै उनले जेनजी विद्रोहपछि गरेको पार्टीभित्रको विद्रोह पनि जनताबाट अनुमोदन हुन्छ कि हुँदैन भन्ने पनि अबको तीन सातामा देखिने नै छ । पुराना दल र नेताहरुप्रतिको वितृष्णाबाट नयाँको खोजीमा भौँतारिएको जनमतलाई उनले कति रोक्न सक्छन् भन्ने कुराले नै उनको आगामी राजनीतिक अध्यायको सफलता वा विफलता मापन गर्नेछ ।