प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेशमा सफल निर्वाचनका लागि बधाई व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले बंगलादेश नेसनालिस्ट पार्टी र यसका नेता तरिक रहमानलाई यस विजयको नेतृत्व गरेकोमा विशेष बधाई दिनुभएको छ।

सन्देशमा प्रधानमन्त्री कार्कीले नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण छिमेकी सम्बन्धलाई अझ सुदृढ बनाउँदै पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य विस्तार गर्न नजिकबाट काम गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

दक्षिण एसियाली मुलुक बंगलादेशमा पछिल्लो समय राजनीतिक अस्थिरता र युवा विद्रोहको पृष्ठभूमिमा निर्वाचन सम्पन्न भएको हो। अन्तरिम रूपमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा बनेको सरकार देशमा बढ्दो राजनीतिक तनाव र सडक प्रदर्शनपछि गठन गरिएको थियो। विभिन्न दल र नागरिक समूहहरूले निष्पक्ष निर्वाचन, सुशासन र संस्थागत सुधारको माग गर्दै आन्दोलन चर्काएका थिए।

सम्पन्न संसदीय निर्वाचनलाई देशको लोकतान्त्रिक प्रक्रियालाई पुनःस्थापित गर्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ। राजनीतिक ध्रुवीकरण र केही हिंसात्मक घटनाबीच बंगलादेशमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण मानिएको थियो।