प्रधानमन्त्री सुशीला कार्कीले आज निर्वाचन तयारी र वस्तुस्थितिबारे जानकारी लिने क्रममा सोलुखुम्बु र भोजपुर जिल्लाको भ्रमण गरेकी छन्।
प्रधानमन्त्री कार्कीले सोलुखुम्बुको नाम्चे र सल्लेरीमा स्थानीय बासिन्दा र सरकारी निकायका अधिकारीहरुसँग छलफल गरेकी हुन्।
सल्लेरीमा मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे, प्रमुख सेनानी विजय प्रकाश आङदेम्बे, प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पाण्डेय, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थितिमा छलफल भएको थियो।
सल्लेरीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित एक कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पोखरेल र प्रमुख जिल्ला अधिकारी केसीले निर्वाचन तयारीबारे जानकारी गराएका थिए।
शान्ति सुरक्षाका दृष्टिले कुनै समस्या नरहेको, यहाँको जनजीवन शान्त रहेको र हालसम्म मौसमी प्रतिकूलता पनि नदेखिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराएका थिए।
विगत केही वर्षयताको मौसमी विवरण हेर्दा फागुनमा हिमपात भएका घटना कम रहेको पनि उनले बताए।
केही गरी हिमपात भइहाले उच्च हिमाली क्षेत्रका केही स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन सक्ने उनको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको प्रगतिप्रति खुसी व्यक्त गर्दै आगामी निर्वाचन शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न हुनेमा विश्वास व्यक्त गरिन्।
‘यो निर्वाचन सामान्य अवस्थाको नियमित प्रकृतिको नभएर विशेष अवस्थामा हुन लागेको हो। त्यसैले यसलाई विशेष तयारीका साथ सम्पन्न गर्नुपर्छ। सकेसम्म धेरै मतदाता सहभागी गराउन हाम्रो प्रयास रहनुपर्छ। स्वतन्त्र र विश्वसनीय वातावरणमा धेरैभन्दा धेरै मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ। त्यसका लागि हामीले सकेको सबै प्रयत्न गर्छौँ, गर्नुपर्छ। फागुन २१ गते एकै दिनमा देशभर एकसाथ निर्वाचन हुन्छ।’
सल्लेरीबाट प्रधानमन्त्री कार्की नेतृत्वको टोली भोजपुर पुगेको थियो। भोजपुरमा पनि उनले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश नारायणप्रसाद दाहाल र जिल्लास्थित सुरक्षा प्रमुखहरुसँग अन्तर्क्रिया गरिन्।
त्यस क्रममा जिल्लामा भइरहेको निर्वाचनको तयारी र सुरक्षा योजनाका विषयमा जानकारी गराइएको थियो।
भोजपुरमा पनि सुरक्षासँग सम्बन्धित चुनौती खासै नरहेको जिल्ला सुरक्षा प्रमुखहरुले जानकारी दिराए।
काेसी प्रदेशको अवस्थाबारे छलफल
आजै प्रधानमन्त्री कार्कीले कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरुसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे पनि जानकारी छन्।
सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाका बारेमा छलफल गरेकी हुन्।
कोसी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेल, नेपाल प्रहरीका नायब महानिरीक्षक विनोद घिमिरेका साथै विभिन्न जिल्लका मुख्य निर्वाचन अधिकृतहरु, नेपाली सेना, सशस्त्र प्रहरीका, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु, प्रमुख जिल्ला अधिकारीहरुको पनि उपस्थिति थियो।
कार्यक्रममा नेपाली सेनाका पूर्वी पृतना मुख्यालयका पृतनापति उपरथी गौरवकुमार केसीले कोसी प्रदेशको सुरक्षा अवस्था र निर्वाचनलक्षित योजनाका विषयमा प्रस्तुतीकरण दिए।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिइन्।
‘छोटो समयमा तपाईँहरुले राम्रो काम गर्नुभएको छ। यो सबैको समन्वयात्मक र एकीकृत प्रयासको प्रतिफल हो। मैले आज जे जति जानकारी पाएँ र आफ्नै आँखाले पनि देखेपछि लाग्यो कि अब जनताले मत हाल्न मात्र बाँकी छ। बाँकी सारा तयारी सकियो। आउँदा दिनमा पनि सबै सुरक्षा निकायबीच यस्तै एकताबद्ध र समन्वयात्मक रुपमा अघि बढ्नुहोस्। यसको प्रतिफल राम्रो आउनेछ र देशले पनि निकास पाउनेछ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
साथै उनले कुनै तत्त्वले निर्वाचनको वातावरण बिगार्न खोजेमा तत्कालै त्यस्ता तत्त्वलाई निरुत्साहित गर्न पनि निर्देशन दिइन्।
उनले भनिनन्, ‘सामाजिक सञ्जाल वा अन्य जुनसुकै माध्यमबाट पनि कसैले वातावरण बिगार्न खोज्लान्। त्यस्ता तत्त्वलाई पहिचान गरी तत्काल निरुत्साहित गर्नुहोस्। यसमा कुनै सम्झौता नगर्नुहोस्। यतिखेर देशले निकास पाउनका लागि निर्वाचनभन्दा ठूलो कुरा अर्को कुनै छैन।’
आज प्रधानमन्त्री कार्की सुनसरीको इटहरीमै सकेकी छन्। भ्रमण टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल, प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लगायत छन्।
कोसी प्रदेशका १४ जिल्लामा २८ निर्वाचन क्षेत्रका लागि निर्वाचन हुँदै छ। कोसी प्रदेशमा निर्वाचनका लागि ५१ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिँदै छ।