निर्वाचनकेन्द्रित सुरक्षा रणनीति बनाउन देशभरका सैनिक कमान्डर जंगी अड्डामा भेला भएका छन् ।
चुनाव आउन २४ दिन मात्र बाँकी रहेको अवस्थामा प्रधान सेनापति अशोकराज सिग्देलले कमान्डरहरुको भेला राखेका हुन् ।
मंगलबार सुरु भएको बैठक दुई दिनसम्म चल्नेछ ।
मंगलबार उद्घाटन सत्रमा प्रधानमन्त्री एवं रक्षामन्त्री सुशीला कार्कीले विशेष निर्देशन दिनुभएको छ ।
उहाँले सेनालाई त्रुटिरहित ढंगले चुनावी सुरक्षाको व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ ।
विगतमा भएका सुरक्षा कमजोरीको पनि समीक्षा गरी अब त्रुटि हुन नदिने गरी परिचालित हुन उहाँको निर्देशन मन्तव्यमा उल्लेख छ ।
प्रधानमन्त्री कार्कीको मन्तव्यमा उल्लिखित मुख्य तीन बुँदे निर्देशन यस्तो छ-
• निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको “प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
• जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरुलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न अन्य निकायहरुसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न म तपाईहरुलाई निर्देशन दिन्छु ।
• विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन र चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनेतर्फ सतर्क हुनुहोस् ।
• यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामहरुबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरुसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।