नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।

नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभएको हो ।

राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । साथै उहाँले सुन्दर देश नेपालको बसाइँ सुखद् रहने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति र लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी पनि दिनुभयो । यस क्रममा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उहाँले धन्यवाद पनि ज्ञापन गर्नुभयो ।

यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको र भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिनुभयो ।

‘हामी निकै असहज अवस्थामा आएका थियौँ । शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम गर्‍यौँ । छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ । थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ । त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ । अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद छ।’

उहाँले राष्ट्र संघीय निकायहरुमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सह्राहना गर्नुभयो। राष्ट्र संघले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने विश्वास पनि प्रधानमन्त्री कार्कीले व्यक्त गर्नुभयो ।

नवनियुक्त संयोजक याहियाले विषम परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकोमा बधाइ दिनुभयो र यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना पनि व्यक्त गर्नुभयो ।

‘देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्र संघको टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । युवाका लागि रोजगारी सिर्जना, शान्ति, समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्र संघ पूर्ण रूपमा प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो।