निर्वाचन आयोगले योग्यता नपुगेका दलहरूको समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाएको छ । मंगलबार समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्नुपूर्व आयोगले शुद्धीकरण गरेको हो ।

दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीमा परेका उजुरी, उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उनीहरूको नाम हटाइएको आयोगले जनाएको छ । नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना छन् ।

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकादेखि २५ वर्ष उमेर नपुगेकासम्म उम्मेदवार बन्दसूचीबाट हटाइएका छन् । आयोगका अनुसार बन्दसूचीबाट हटाइएकामध्ये कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जना छन् ।

यसबाहेक प्रदेश सभातर्फको बन्दसूचीमा नाम कायम रहेका २५, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १०, उम्मेदवार बन्ने २५ वर्ष उमेर पूरा नभएका ४, मतदाता नामावलीमा नाम समावेश नभएको १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ र महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जनाको नाम बन्दसूचीबाट हटाइएको छ ।

समानुपातिकतर्फ ६३ दलबाट तीन हजार २१३ जनाको बन्दसूची पेस भएको थियो । प्रवक्ता भट्टराईले समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची मंगलबार सार्वजनिक गरिने बताए ।