टोकियो, जापान । राष्ट्रपति रामचन्द्र पौडेलले आज टोकियोमा जापानी प्रमुख व्यवसायी, उद्यमी तथा लगानीकर्तासँग भेटघाट गरेका छन् । उक्त भेटमा नेपालतर्फबाट ‘नेपालमा व्यवसाय र लगानीका अवसर’ विषयमा प्रस्तुति दिइएको थियो ।
प्रस्तुतिपछि जापानी तथा नेपाली व्यवसायिक समुदायका प्रतिनिधि र राष्ट्रपति पौडेलसँगैको नेपाली प्रतिनिधिमण्डलका तर्फबाट धारणा राखिएको थियो । बैठकमा नेपालमा उपलब्ध विभिन्न क्षेत्रमा लगानीका सम्भावना, सहकार्यका अवसर तथा लगानीमैत्री वातावरणबारे छलफल गरिएको थियो ।
बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले जापानी व्यवसायिक समुदायलाई नेपालमा व्यवसाय तथा लगानीका अवसर खोज्न आमन्त्रण गरे । उनले नेपाल सरकार लगानी प्रवर्द्धनका लागि अनुकूल वातावरण सिर्जना गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै जापानी लगानीकर्तालाई आवश्यक सबै प्रकारको सहयोग प्रदान गरिने आश्वासन दिए ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी उक्त भेटघाटले नेपाल–जापानबीचको आर्थिक तथा व्यापारिक सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।