गृह मन्त्रालयले भोटाहिटीको साइबर ब्युरोको भवन काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।
आज गृह मन्त्रालयमा मन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बसेकोले यो निर्णय गरेको हो ।
बैठकले साबिक काठमाडौँ महानगरपालिका वडा नं २७ भोटाहिटी चोकमा, नेपाल प्रहरीको साइबर ब्युरोले प्रयोग गरिरहेको जग्गा तथा उक्त जग्गामा रहेको घर काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्ने गरी गृह मन्त्रालयले सहमति प्रदान गर्ने निर्णय गरेको उपमेयर सुनीता डंगोलले जानकारी दिइन् ।
यस्तै महानगरपालिकाको वडा नं २८ रामशाहपथमा रहेको ७-०-२-३ क्षेत्रफलको जग्गा नेपाल सरकारको नाममा दर्ता गर्न काठमाडौँ महानगरपालिकाले सहमति प्रदान गर्ने निर्णय भएको छ ।
यो जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेपछि कुल क्षेत्रफलमध्ये कम्तीमा ८ आना जग्गा समरजंग कम्पनी कार्यालय (हाल साइबर ब्युरो रहेको जग्गाको स्वामित्व भएको कम्पनी) र बाँकी जग्गा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपयोग गर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।
डंगोलको भनाइ छ, ‘यी निर्णयहरु अन्तरसरकार समन्वय, साझेदारिता र सहकार्यका असल अभ्यास हुन् । नागरिक सेवा सहजताका लागि महानगरपालिका आपसी सम्बन्धका निम्ति सदैव तत्पर छ । महत्त्वपूर्ण निर्णय, सहकार्य र समन्वयका लागि गृह मन्त्रालयप्रति हार्दिक धन्यवाद ।’