आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ हालसम्म ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ । प्रत्यक्षतर्फ सुदूरपश्चिमका तीन र कर्णालीका आठ गरी ११ जिल्लाको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रिया सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र डोटी, कर्णाली प्रदेशअन्तर्गत दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा र रुकुमपश्चिमका लागि मतपत्र छपाइ सम्पन्न भई ढुवानीका लागि तयार गरिसकिएको उहाँले बताउनुभयो ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हालसम्म २५ जिल्लाका लागि करिब ३० लाख मतपत्र छपाइ गरिएको पनि आयोगले जनाएको छ । तीमध्ये १६ लाख २१ हजार मतपत्र प्याकिङ भइसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड आठ लाख मतपत्र यसअघि नै छपाइ सकिएको छ । प्रत्यक्षतर्फ मतपत्र पनि छपाइ सकेर फागुन दोस्रो सातासम्म सम्बन्धित जिल्ला एवम् निर्वाचन क्षेत्रमा पठाइने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र छापेर सकिएको छ । मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ पनि गरिएको छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हालसम्म २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।