प्रधानमन्त्री सुशीला कार्कीले अब लोकतन्त्र र उत्तरदायी शासन व्यवस्थाका लागि कुनै आमाको काख फेरि रित्तिन नपरोस् भनी कामना गरेकी छन् ।

सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गरी प्रधानमन्त्री कार्कीले विभिन्न आन्दोलनमा जीवनको उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुको प्रत्येक शासकको सदा स्मरणमा रहनुपर्ने बताएकी छन् ।

‘नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,’ प्रधानमन्त्री कार्कीको सन्देशमा उल्लेख छ, ‘न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आशामा उठेको जेनजी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई पनि नमन। उहाँहरूको साहस, चेतना र संकल्पकै कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको छ। अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्। शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकको सदा स्मरणमा रहोस्।’

विसं १९९७ सालमा प्रजातन्त्रको पक्षमा लडेका चार सहिदले सहादत प्राप्त गरेको अवसरमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

तत्कालीन राणा शासनविरुद्ध र लोकतन्त्र स्थापनाको पक्षमा आन्दोलन गरी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द र गंगालाल श्रेष्ठले माघ १० देखि १६ गतेको बीचमा प्राणको आहुति दिएका थिए। त्यसैको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरिएको छ।

सहिद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (शहीद स्मारक) मा मुख्य समारोह आयोजना गरेर सहिदहरूको स्मरण गरिएको हो ।

प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा काठमाडौँको लैनचौरस्थित सहिद पार्कमा पनि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।