चार–चार पटक देशको प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीले फेरि एकपटक क्षेत्र, भूगोल र समुदायका आधारमा नेपाली नागरिकलाई सभ्य–असभ्यको वर्गीकरण गर्ने चेतना प्रकट गरेका छन् । उनले दमकलाई सभ्य र सफा भन्दै सिरहा–महोत्तरीका मधेसी समुदायलाई फोहोरी र असभ्यका रूपमा प्रस्तुत गरेका छन् ।

सिंगो मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्तिबाट आएको यस्तो अभिव्यक्ति केवल व्यक्तिगत विचार होइन, यो एउटा ठूलो दलको नेता र भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका उम्मेदवारको हैसियतबाट आएको विचार हो । उनले एउटा सहरको प्रशंसा गर्दा बाँकी भूगोल र त्यहाँ बसोबास गर्ने समुदायप्रति हेपाहा दृष्टिकोण बोकेका छन् । यस्तो बोलीमा अहंकार छ, पक्षपात छ र राष्ट्रिय एकताप्रति असंवेदनशीलता छ ।

ओलीको फरक भूगोल र समुदायप्रति यस्तो दृष्टिकोण पहिलोपटक प्रकट भएको होइन । यसअघि कर्णालीलाई ‘भात खान नपाउने’ भनेर टिप्पणी गरेका थिए। भीम रावललाई लक्षित आलोचनाको क्रममा सिंगो सुदूरपश्चिमलाई अपमानित हुने भाषा प्रयोग गरेका थिए । अहिले मधेसका सिरहा–महोत्तरीलाई असभ्य ठहर गर्दै उही द्वेषपूर्ण मानसिकता दोहोर्‍याएका छन् ।

चारपटक प्रधानमन्त्री भइसकेको नेताको चेतनामा अझै पनि यस्तो सोच देखिनु गम्भीर विषय हो । सारा देशको बजेट अन्यापूर्ण तरिकाले सोहोरेर, सारा अवसरहरु झापाले अघाएपछि मात्र अरुले पाउने बनाएर आफ्नो सहर बनाउने र त्यसको श्रेय आफैँ लिने तर कुनै क्षेत्र पछि परे त्यसको दोष त्यहीँका नागरिकलाई दिने सोच निम्छरोपनको पराकाष्ठा हो ।

कर्णाली र बाजुराको नाममा आएको बजेट दमक केन्द्रित गरिएको तथ्य सचेत नेपाली युवाले राम्रैसँग बुझेका छन् । विदेशी सहायताका लागि सिंगो देशको प्रतिनिधित्व गर्दै हात पसारिए पनि प्राप्त स्रोतहरू झापामै बढी केन्द्रित गरिएको पनि छर्लंगै छ । राजनीतिक नियुक्ति, सरुवा–बढुवा, मनोनयन, समानुपातिकको अवसर झापा अघाइसकेपछि मात्र अरुले पाएका विवरण पनि छरपस्टै छन् ।

आफ्नो द्वेषपूर्ण सोचकै कारण आज ओली मधेसी समुदायलाई होच्याइरहेका छन्, कर्णाली र सुदूरपश्चिमलाई खिस्याइरहेका छन् । कर्णाली र सुदूरपश्चिमको गरिबी त्यहाँका नागरिकको नैतिक कमजोरी होइन, राज्यको र स्वयं ओलीको अन्यायपूर्ण व्यवहारको परिणाम हो । तर जब आफ्ना शासनकालका असफलताहरूको उत्तर दिन कठिन हुन्छ, तब कमजोर भूगोल र जनतालाई दोषारोपण गर्ने प्रवृत्ति ओलीले देखाउने गरेका छन् ।

अझ “झापाका सुकुम्बासी बालेन देखेर डराए” भन्ने अभिव्यक्ति पनि विपक्षीमाथिको प्रहारभन्दा बढी आफ्नै शासनकालमा सुकुम्बासी समस्या समाधान गर्न नसकेको स्वीकारोक्ति हो । झापाले ओलीलाई पटक–पटक निर्वाचित गर्‍यो, प्रधानमन्त्री बनायो, सत्ता दियो । तर सुकुम्बासीको जीवनमा ठोस परिवर्तन आयो कि आएन भन्ने प्रश्न आज पनि उस्तै छ । यसले सुकुम्बासी समस्या समाधानको विषयभन्दा पनि चुनावी प्रयोगको साधन मात्र बनेको संकेत गर्छ ।

देशभरिका नागरिकको प्रधानमन्त्री भएर एउटा सहरलाई आदर्श र बाँकी भूगोललाई उपहासको विषय बनाउनु राष्ट्रलाई विभाजित गर्ने सोच हो । समाजलाई जातीय, क्षेत्रीय र साम्प्रदायिक रुपमा विभक्त बनाउने सोच र प्रवृत्तिले असल शासन दिन सक्दैन । राष्ट्रिय एकता र सद्भावलाई पनि बलियो बनाउँदैन ।

नेतृत्व उमेरले होइन, चेतनाले चल्छ । आफूले प्रयोग गर्ने शब्दले समाजमा पार्ने प्रभाव नबुझ्नु थकित र असफल राजनीतिक चेतनाको संकेत हो । आज केपी शर्मा ओलीका अभिव्यक्तिहरू देश हाँक्ने जिम्मेवारीसँग मेल खाँदैनन् । बरु ती अभिव्यक्तिहरूले देशलाई थप क्षति पुर्‍याइरहेका छन् । इतिहासले उनलाई धेरै अवसर दिएको छ । अझै बारम्बार अवसर नदिन सक्छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनबाट ज्यान जोगाउन हम्मे परेपछि सेनाले उद्धार गरेको थियो उनलाई । बालुवाटारबाट हेलिकप्टर चढेर भागेका उनी अहिले फेरि नेपालीको क्षमाशीलतालाई जिस्क्याउँदै छन् । जनताको धैर्यसँग खेल्ने कोसिस गरिरहेका छन् । सहिद र घाइतेको बलिदानलाई लल्कार्दै छन् । यो पनि उनमा रहेको मानवीय संवेदनाको खडेरीको द्योतक हो ।

अहिले विपक्षी शक्तिशाली देखिनुको कारण विपक्षीको रणनीति मात्र होइन, ओलीका यस्तै अभिव्यक्तिहरू पनि हुन् । मौन रहँदा जोगिन सक्ने राजनीतिक प्रतिष्ठा, बोल्दै जाँदा स्वयं कमजोर बन्दै गएको देखिन्छ । तसर्थ अब उनीसँग २ वटा मात्र विकल्प स्पष्ट छन्- या त बोलीमा संयम ल्याउने, नत्र आफ्नै अभिव्यक्तिले आफ्नै राजनीतिक भविष्य तय गर्न दिने ।

याद रहोस्- इतिहास तटस्थ हुन्छ तर उसका निर्णयहरू सधैं कठोर हुन्छन् ।