पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।
देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने भन्दै उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।
आफू निरन्तर जनताको सेवामा भने लागिरहने उनको भनाइ छ ।
यसअघि रास्वपाले उनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।
‘आगामी दिनमा देशले चाहेअनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भनेका छन्, ‘प्रस्तावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’
विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको पनि उनले प्रस्ट्याएका छन् । ‘मसँग विभिन्न दलका व्यक्तित्वले सल्लाह सुझाव के दिनुभयो भने तपाईंहरूजस्तो व्यक्तिले साझा व्यक्तिको रुपमा रहनुपर्छ । देशको जुन अहिले तरल अवस्था छ त्यसले निश्चित आकार ग्रहण गरेको छैन,’ बाबुरामले थप प्रष्ट पार्दै भने, ‘तपाईंले चुनावी प्रतिस्पर्धामा लाग्नुभन्दा सल्लाह सुझाव दिएर अघि बढ्दा हुन्छ भन्ने साथीहरू, दलको पनि आयो ।’
यस क्षेत्रमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी उम्मेदवार छन्।
२०७९ सालमा बाबुरामले यो क्षेत्र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि छाडिदिएका थिए । यसपालि भने प्रचण्ड रुकुम पूर्व पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट यस क्षेत्रमा लेखनाथ न्यौपाने उम्मेदवार छन् ।
रास्वपाको आग्रहपछि बाबुरामले फिर्ता लिए उम्मेदवारी
२०८२ माघ ९ गते ०८:४२