कैलाली–१ बाट नागरिक उन्मुक्ति पार्टी नेपालबाट उम्मेदवारी दिएका रेशमलाल चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ ।
टीकापुर नरसंहारमा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय तोकिएका चौधरीले उम्मेदवारी दिएपछि बुधबार उनका विरुद्धमा उजुरी परेको थियो ।
आठ जनाको ज्यान जाने गरी २०७२ भदौमा भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकार अदालतले ठहर गरेको भए पनि उनले पूरा अवधि कैद भने बस्नुपरेन। तीनै तहका अदालतबाट जन्मकैदको सजाय पाएका भए पनि उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले सजाय माफी सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले माफी दिएका थिए । उक्त निर्णयविरुद्धको निवेदन सर्वोच्च अदालतमा अझै विचाराधीन छ।
निर्वाचन अधिकृतको कार्यलयले भनेको छ, ‘राष्ट्रपतिबाट सजाय माफी भएको कारणले मात्रै अदालतको फैसला बदर नहुने भएकाले उम्मेदवारी खारेजीको निर्णय गरिएको छ ।’
यसअघि आयोगले नै राजनीतिक दलसम्बन्धी ऐन र अदालतका फैसलाहरूले समेत फौजदारी कसुरमा परेका व्यक्ति पार्टीको सदस्य समेत हुन अयोग्य रहने व्यवस्था गरेकोले त्यस्तो व्यक्तिलाई अध्यक्षको रुपमा अद्यावधिक गर्न नसक्ने नमिल्ने निर्णय समेत गरेको थियो ।