निर्वाचन आयोग, गृह मन्त्रालय र नेपाल प्रहरीबीच निर्वाचनकेन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।
निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार भएको बैठकमा आसन्न निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने लगायतका समसामयिक विषयमा बृहत् छलफल भएको हो ।
साथै निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवम् सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पादन गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो ।
कार्यक्रममा गृहमन्त्री ओम प्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी कुमारी तुलाधर र सगुन शमशेर जबरा, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत निर्वाचन आयोगका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
आजै निर्वाचन सुरक्षालाई लिएर केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो भने प्रदेशमा परिचालित हुने प्रहरी नायब महानिरीक्षकसँग पनि गृहमन्त्री अर्यालले छुट्टै छलफल गरेका थिए।
मंगलबार देशभर प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता उत्साहजनक रुपमा सम्पन्न भएपछि मुलुक पूर्णतः निर्वाचनमा होमिएको छ । ३ हजार ४ सय ८६ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले उनीहरुको योग्यताका विषयमा उजुरी लिएर छानबिन गर्दै छ ।