दुर्गा प्रसाईँ नेतृत्वको समूहले घेराउ, तालाबन्दी र चक्काजामजस्ता निर्वाचनलाई अवरोध पुर्‍याउने र नागरिकको दैनिकीमा असर गर्ने कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेको छ।

राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान, नेपालनामक उक्त समूहले एक विज्ञप्ति जारी गरी घेराउ, तालाबन्दी र चक्काजामजस्ता कार्यक्रम फिर्ता लिएको जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘नागरिक बचाउ महाअभियान, नेपालको श्रद्धेय केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईज्यूलाई हिजो मिति २०८२ माघ ५ गते पोखराको लेकसाइड बराही प्रांगणमा विशाल नागरिक जनसभालाई सम्बोधन गरी काठमाडौं फर्कने क्रममा पोखरा बिमान स्थलमा सार्वजनिक शान्ति बिरुद्धको कसुरमा पक्राउ गरी काठमाडौं भद्रकालीस्थित प्रहरी परिसरमा रहनुभएकोमा विशेष सरकारी वकिलको कार्यालय बाट ससम्मान रिहाइ हुनुभएको जानकारी गराउँदछौं। तसर्थ हामीले निर्वाचन कार्यलय घेराउ, तालाबन्दी र चक्काजाम गर्ने पूर्वघोषित कार्यक्रमहरु स्थगन गरिएको छ। माघ २ गते नेपाल सरकारले नागरिक बचाउ महाअभियान, नेपालसँग गरेको १२ बुँदे सहमति तुरुन्तै कार्यन्वयनन गर्न माग गर्दछौँ। नागरिक बचाउ महाअभियन, नेपालले फागुन २१ गते गरिने कथित निर्वाचनलाई देशभरि शन्तिपूर्ण सभा, जुलुस, र्‍याली र अन्य विरोधको कार्यक्रमहरुमार्फत विरोध गर्ने सम्पूर्णमा जानकारी गराउँदछौँ।’