प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगले मनोनयन पत्र दर्ताका लागि मंगलबार दिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २२ सय ९७ जनाले उम्मेदवारी दिए। ११ सय ८७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
देशभर कुल ३ हजार ८८ पुरुषले उम्मेदवारी दिँदा महिला ३९५ मात्र छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता भएको छ।
विवरणअनुसार देशका १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देहीको निर्वाचन क्षेत्र नं २ र ३ मा सबैभन्दा बढी ३५-३५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी सबैभन्दा कम मुस्ताङमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उम्मेदवारी परेको पनि आयोगको विवरणमा उल्लेख छ ।
अब दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ।
सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ हुनेछ। माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने तालिका छ।
यसपटकको निर्वाचनमा देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्।
मतदानका लागि देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् ।
