अब निर्णय गर्ने जिम्मा समयको हातमा छाडिदिने छुट गगनसँगै छैन । उनको विवेक र कर्मको परिणाम नै कांग्रेसले भोग्नेछ । देशले पनि वरण गर्नेछ ।

नेपाली कांग्रेसको हालैको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयनसँगै पार्टीको राजनीतिक संस्कार, नेतृत्वशैली र भावी दिशाबारे निर्णायक मोड सावित हुने गरी व्यापक उथलपुथल ल्याइदिएको छ ।

गगन थापा र विश्वप्रकाश शर्माले शेरबहादुर देउवा–आरजु राणा केन्द्रित गिरोहतन्त्रविरुद्ध वैधानिक विद्रोह गरे । यो विद्रोह उत्ताउलो वा अराजक थिएन । केवल भावनात्मक विस्फोट मात्र पनि थिएन । त्यो विधिसम्मत, शालीन र भद्र विद्रोह थियो । महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भयो । यसले अन्ततः निर्वाचन आयोगबाट पनि मान्यता पायो ।

यस विद्रोहको सबैभन्दा उल्लेखनीय पक्ष यसको शैली हो । नेपाली राजनीतिमा विद्रोह भन्नासाथ गाली, आरोप–प्रत्यारोप, चरित्रहत्या र विभाजनको स्मृति आउँछ । तर गगन–विश्वप्रकाशले त्यो परम्परा तोडे । उनीहरूले न त तुच्छ आरोप लगाए, न त वरिष्ठ नेताहरूलाई तीखा वाणीबाट अपमान गरे । बरु देउवालगायत ज्येष्ठ नेताहरूलाई अभिभावकीय भूमिकामा बस्न आग्रह गर्दै सम्मानजनक स्थान देखाइदिए । यही शालीनताले यो विद्रोहलाई वैधानिक मात्र होइन, नैतिक रूपमा पनि बलियो बनायो ।

विडम्बना, पुरानो पुस्ताका मुख्य नेताहरू शेरबहादुर देउवा, कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतले तन्नेरीको आवाज सुन्न सकेनन् । उनीहरूको अस्वीकार र मौनताबीच देशभर भने युवा कार्यकर्ता, शुभेच्छुक र आम समर्थकहरूको उभार स्पष्ट रूपमा गगन थापातर्फ खनिएको छ । हिजोसम्म असहमत देखिएका नेताहरू समेत अब गगनतिरै ढल्किन थालेका छन् । विशेषगरी निर्वाचन आयोगले विशेष महाधिवेशन र नयाँ नेतृत्वलाई वैधानिकता दिएपछि शेखर कोइराला पक्षधर नेताहरूको भाषा र प्रस्तुति बदलिएको छ । सुजाता कोइराला, गोविन्दराज पोखरेल, सुनील शर्मा लगायतले ‘कांग्रेस विभाजन भएको होइन, नयाँ सभापति चयन भएको हो’ भन्दै गगन नेतृत्वलाई मान्यता दिएका छन् । विशेष महाधिवेशनमार्फत भएको विद्रोहलाई पार्टीभित्र सहज रुपमा स्वीकार्न थालिनु परिवर्तन संस्थागत बन्दै जानु हो ।

हो, गगन थापा विद्रोहका विम्ब हुन् । उनको विद्रोही स्वभाव, चरित्र र छविकै कारण गगन गगन भएका हुन् । अब भने उनी संस्थापनको शिरमा पुगेका छन् । विद्रोही अवस्थाका गगनका केही अभिव्यक्ति र प्रस्तुति कहिलेकाहीँ लोकरिझ्याइँपूर्ण अवश्य थिए । तर अब परिस्थिति बद्लिएको छ । विद्रोही गगनबाट संस्थापन गगनमा रूपान्तरण हुनु आफैंमा सबैभन्दा ठूलो परीक्षा हो ।

अब गगन थापा र विश्वप्रकाश शर्माका सामु दुई ठूला र आपसमा गाँसिएका चुनौती छन् ।

पहिलो, कांग्रेसलाई एक बनाउने ऐतिहासिक जिम्मेवारी ।

प्रजातन्त्र र लोकतन्त्रको कठिन लडाइँ लडेको पुरानो पुस्ता र नयाँ नेपाल, सुशासन र अवसरको प्रगाढ आकांक्षा बोकेको नयाँ पुस्ताबीच पुल निर्माण गर्नु सजिलो छैन । पुरानो पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दै, नयाँ पुस्ताको ऊर्जा, दृष्टि र अपेक्षालाई संस्थागत गर्नु नै कांग्रेस एकताको सार हुनेछ । यदि यो सन्तुलन गुम्यो भने कांग्रेस फेरि गुट, असन्तोष र आन्तरिक द्वन्द्वमा फस्ने जोखिम कायमै रहन्छ ।

दोस्रो, नीति, कार्यक्रम र एजेन्डाको स्तरमा कांग्रेसलाई विश्वसनीय र प्रतिस्पर्धी बनाउने चुनौती ।

आजको नेपालमा नयाँ र वैकल्पिक शक्तिहरूले सुशासन र भ्रष्टाचारविरोधलाई मुख्य राजनीतिक मुद्दा बनाएका छन् । कांग्रेस अब केवल भावनात्मक अपिल, ऐतिहासिक गौरव वा लोकरिझ्याइँपूर्ण नारामा सीमित रहन सक्दैन । आँकडा, तथ्य, प्रमाण र कार्यान्वयनयोग्य नीतिमा आधारित सुधारको बहस र नेतृत्व आवश्यक छ । स्वास्थ्य, शिक्षा, रोजगारी, अर्थतन्त्र र संघीय शासनको कार्यसम्पादनमा कांग्रेसले मापनयोग्य परिणाम देखाउन सकेन भने जनविश्वास टिक्ने छैन ।

भनिन्छ, नेतृत्वको सार्थकता अन्ततः उसले कस्तो विरासत छोड्छ भन्नेमा निर्भर हुन्छ । गगन थापाले नेतृत्वमा पुग्न वैधानिक ‘कू’ गरी लोकतान्त्रिक र साहसिक खेल जितेका छन् । तर खेल जित्नु मात्र पर्याप्त हुँदैन, अब उनले अभिभावकीय भूमिकामा आफूलाई अब्बल सावित गर्नुपर्छ । शालीन विद्रोहलाई शालीन शासन र परिणाममुखी नेतृत्वमा रूपान्तरण गर्न सके मात्र यो विद्रोह इतिहासमा सार्थक ठहरिनेछ ।

नयाँ कांग्रेससामु आज अवसर र चुनौती दुवै अभूतपूर्व रूपमा उपस्थित छन् । यति याद रहोस्, अब निर्णय गर्ने जिम्मा समयको हातमा छाडिदिने छुट गगनसँगै छैन । उनको विवेक र कर्मको परिणाम नै कांग्रेसले भोग्नेछ । देशले पनि वरण गर्नेछ ।

भवतु सब्ब मंगलम् ।