Bidhi News Logo
राजनीति

दुई दिनको बयानपछि फुकुवा भयो लेखकको स्थानहद

विधिन्युज
१७ पुष २०८२
रमेश लेखक

काठमाडौँ, १७ पुसः गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ ।

आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी दिनुभयो ।

आयोगले आज गृह मन्त्रालयलाई पत्र लेखी लेखकको भ्रमण फुकुवाको जानकारी गराएको छ ।

आयोगले सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र मन्त्रालय, प्रहरी प्रधान कार्यालय र लेखकलाई दिइएको छ ।

बैठकले भदौ २३ र २४ गतेको घटनाको छानविन तथा जाँचबुझका लागि अनुसन्धानका दायरामा रहेको भन्दै आयोगले गत असोज १२ गते लेखकको विदेशमा भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने निर्णय गरेको थियो

सो घटनाका सम्बन्धमा तत्कालीन गृहमन्त्री लेखकले दुई दिनसम्म आयोगमा बयान दिनुभएको थियो।

अब आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानमा बोलाउँदै छ।

उनको पनि बयान सकिनासाथ स्थानहद फुकुवा गर्ने समझदारी आयोगमा बनेको छ।

एमालेले सरकारसँगको वार्ता र छलफलमा आफ्ना अध्यक्ष ओलीको स्थानहद फुकुवालाई मुख्य मुद्दा बनाउँदै आएको छ। निर्वाचनको वातावरण बनाउन र चुनाव प्रचारमा खट्न दिनका लागि पनि स्थान हद फुकुवा हुनुपर्ने एमालेको दाबी छ।